बिहीबार, जेठ २८, २०८३

फल दिने बेला बोट मर्न थालेपछि अलैँची कृषक चिन्तित

चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिक रूपमा भने गरिएको थिएन। गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा लिएर अनुदानमा दिएपछि कृषक यसमा लागेका हुन्।
 |  सोमबार, साउन २२, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २२, २०८०

ढोरपाटन- २०७६ सालदेखि​ व्यावसायिक अलैँची खेती गर्दै आएका ताराखोला गाउँपालिका–२ अर्गलका कृषक अहिले निराश छन्। फल दिने बेला सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका हुन्।

National life

चार वर्ष अगाडि गाउँमा फाट्टफुट्ट अलैँची खेती गरे पनि व्यावसायिक रूपमा भने गरिएको थिएन। गाउँपालिकाले पूर्वी नेपालबाट बिरुवा ल्याएर अनुदानमा दिएपछि कृषक व्यावसायिक रूपमा अलैँची खेती गर्न थालेका हुन्।

असार महिनादेखि अलैँची फुल्न थालेपछि बोट सुक्न थालेको हो। अहिलेसम्म सयौँ बोट सुकेर नष्ट भएका छन्। अघिल्लो वर्ष केही बोट सुक्ने समस्या देखिए पनि धेरै समस्या नआएको स्थानीय कुलबहादुर घर्तीमगरले जानकारी दिए।

आफूले दुई रोपनी क्षेत्रफलमा स्थानीय जात र नौ रोपनीमा भार्लाङ जातको गरी ११ रोपनी क्षेत्रफलमा अलैँची लगाएको उनले बताए। त्यसमध्ये हालसम्म २० प्रतिशत बोट सुकेर नष्ट भएको उनले सुनाए।

ताराखोला –२ अर्गल गाउँका खोला किनारमा धेरै किसानले अलैँची लगाएको जनाउँदै सबैको अलैँचीको बोट सुक्दै गएको स्थानीय घर्तीमगरले जानकारी दिए।

Shivam cement

गाउँमा अलैँची राम्रो हुने सम्भावना देखेपछि आफूले चार लाखमा जग्गा खरिद गरी बिरुवा लिएर लगाएको बताउँदै उनले अहिले समस्या आएपछि लाखौँको नोक्सान हुन थालेको गुनासो गरे। अलैँचीमा समस्या देखिएपछि गाउँपालिकाको कृषि प्राविधिकलाई जानकारी गराएको घर्ती मगरले बताए।

‘गाउँमा पहिले स्थानीय जातको अलैँची लगाएको थिएँ, त्यो निकै राम्रो भएको थियो, फल पनि राम्रो दिएको थियो। त्यही देखेर उन्नत जातको बीउ पूर्वबाट लिएर लगाइयो। केही समय राम्रो भएको थियो, अहिले समस्या आयो’, उनले भने, ‘११ रोपनीमध्ये दुई रोपनीमा स्थानीय जातको र ९ रोपनीमा बाहिरबाट ल्याएर लगाएँ। पोहोर साल नै केही बोट मरेका थिए, अहिले धेरैमा यो समस्या देखियो। गाउँमा अरु किसानले लगाएको अलैँचीमा पनि यही समस्या छ। के भएर मरे, अब कसरी अरु बिरुवा बचाउने भन्ने चिन्ता छ।’

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ढुसीजन्य रोगका कारण अलैँचीका बोट मर्न थालेको बताए। ताराखोला मात्रै नभएर अलैँची खेती हुने जिल्लाको काठेखोला र बरेङमा पनि यो समस्या आएको उनले बताए। सुक्खाका कारण अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने गरेको भट्टराईको भनाइ छ। यो रोगका कारण जिल्लामा पछिल्लो केही वर्षयता उत्पादनमा कमी आउन थालेको उनले सुनाए।

‘किसानले अलैँची बगैंचा बनाउँदा सुक्खा ठाउँ चयन गर्नु हुँदैन। जहाँ चिस्यान छ, पानीको पर्याप्त उपलब्धता छ, त्यहाँ मात्रै यसको खेती गर्नुपर्ने हुन्छ। ताराखोलामा अहिले यो समस्या आयो। काठेखोला र बरेङमा पहिलेदेखि नै समस्या थियो’, प्रमुख भट्टराईले भने, ‘सुक्खाको कारण समस्या भएको हो। अब किसानले नियमित सिँचाइको व्यवस्था मिलाउनुपर्छ। सिँचाइ व्यवस्थापन भयो भने समस्या समाधान हुन्छ।’

कृषि ज्ञान केन्द्रका अनुसार बागलुङमा १०० हेक्टर जमिनमा अलैँची खेती हुने गरेको छ। जिल्लामा हरेक वर्ष ३८ मेट्रिक टन उत्पादन हुने र किसानले राम्रो मूल्य पाएको छ। -रासस

प्रकाशित: Aug 07, 2023| 08:27 सोमबार, साउन २२, २०८०
प्रतिक्रिया दिनुहोस्