बिहीबार, साउन १४, २०८३

रामेछाप कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

मन्थली- कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधार गृह बन्न सकेको छैन। यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन्। सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो।

एक सय ५० देखि बढीमा दुई सयसम्म मात्र कैदीबन्दी अटाउने यस कारागारमा तीन सय ३५ कैदीबन्दी राखिएका छन्।

‘कैदीबन्दी राख्न साह्रै गाह्रो छ’, कारागार प्रमुख रुपलाल तामाङले भने, ‘लाइन लगाएर सुताउनुपरेको छ। ठाउँ नपुगेर खाटमुनिसमेत कैदीबन्दीले ओछ्यान लगाउने गरेका छन्।’

कारागारलाई सरकारले सुधारगृहको नामकरण गरेर पर्याप्त सुविधा दिने नीति लिएको भए पनि यहाँको कारागार भने सास्तीगृहका रूपमा परिणत भएको छ। जिल्लामा सुविधा सम्पन्न कारागार भवन नहुँदा यस्तो समस्या आएको हो।

यहाँको पुरानो कारागारको भवन २०७२ सालको भूकम्पले भत्किएपछि केही भागमा मात्र पुनः निर्माण गरिएको छ। केही संरचना पुरानै छन्। पुराना संरचना ज्यादै जीर्ण रहेकाले थप चुनौती कारागार प्रशासनलाई छ। कारागारमा रहेका ती कैदीबन्दीमध्ये १७ महिला छन्। महिलाको लागि बेग्लै कोठा भए पनि उनीहरूको बसाइ अझ कष्टकर छ। एउटै कोठामा १५ जना अटाएका छन्। भान्सालाई बारेर (पार्टेशन गरेर) थप दुई जना राखिएको छ।

प्रमुख तामाङका अनुसार तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कारागार पुनःनिर्माणको कार्यक्रम राखेको थियो। त्यसबेला कारागार भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन सकेन।

‘मैले प्रमुख जिल्ला अधिकारीलाई समेत जग्गा व्यवस्थापनका विषयमा भनेको छु’, उनले भने, ‘खाद्य संस्थानको जग्गा लिन सकेमा तत्कालका लागि कैदीबन्दी अन्यत्र स्थानान्तरण नगरी भवन निर्माण गर्न सकिने अवस्था छ।’ खाद्य संस्थानले जिल्लाबाट कार्यालय हटाइसकेको छ।

प्रकाशित: Aug 06, 2023| 21:41 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्