सोमबार, साउन १२, २०८२

पुलिस रिपोर्ट प्रमाणीकरण अब अनलाइनबाटै

 |  आइतबार, साउन २१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

vianetvianet

काठमाडौं- अब पुलिस रिपोर्ट प्रमाणीकरण गर्न कन्सुलर सेवा विभाग धाइरहनु नपर्ने भएको छ। विभागले प्रहरीले प्रदान गरेको चारित्रिक प्रमाणपत्र अनलाइनबाटै प्रमाणीकरण गरिदिने व्यवस्था गरेको हो। विभागले आइतबारदेखि सो सेवा सुरु गरेको छ।

आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण कार्यलाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन्। यसअघि प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्न विभाग आउनुपर्ने बाध्यता रहेको थियो। अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण हुने भएपछि सर्वसाधारणको समय र पैसाको बचत भएको परराष्ट्रमन्त्री साउदले बताए। सरकार गठन भइसकेपछि परराष्ट्र सेवालाई सहज र सुलभ बनाउन प्रयास गरेको उनले बताए।

त्यस्तै मन्त्री साउदले राष्ट्रिय एकतालाई मजबुत गर्ने गरि परस्पर लाभका आधारमा अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्न खोजिएको धारणा राखे। उनले विदेशी नीतिमा सबै पार्टीको सहमति हुनका लागि प्रयन्त जारी रहेको भन्दै राष्ट्रिय सहमतिका लागि सबै दलको बिचार ग्रहण गर्न तयार रहेको बताए। वर्तमान सरकार गठन भएपनि प्रधानमन्त्रीको फलदायी भारत भ्रमण भएको र महत्वपूर्ण उपलब्धि हासिल भएको भन्दै मन्त्री साउदले सेप्टेम्बरको अन्तिम सातामा प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेको जानकारी दिए।

विभागका अनुसार अनुसार गत आर्थिक वर्ष २०७९-८० मा विभागले तीन लाख ६ हजार २२ वटा प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको थियो। सेवाग्राहीले अनलाइन आवेदन दिएको २४ घण्टाभित्र प्रमाणीकरण भएको प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइने विभागले जानकारी दिएको छ।

प्रकाशित: Aug 06, 2023| 15:07 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्