काठमाडौं- देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परेर तीनजनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा आठजना मृत फेला परेका छन्।
प्रहरीका अनुसार धनुषा, मिथिला नगरपालिका-६ वायर फैक्टरीस्थित सडकमा प्र.२-०२-००१ प ०६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका-१ बस्ने ४२ वर्षीया कौसलिया देवी महतोको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मोडल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।
सर्लाही, बरहथवा नगरपालिका-९ सोल्टीमोडस्थित सडकमा ना. १ ज २८४९ नम्बरको म्याजिक र ना.२० प ५१७९ नम्बरको मोटेरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ मंगलपुर बस्ने ३७ वर्षीय सुमन सहनीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुर, त्रियुगा नगरपालिका-१० बाँसबारीस्थित सडकमा प्र-१-०२-०४४ प ८८९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइलमा सवार सोही नगरपालिका-६ जलजले बस्ने २५ वर्षीय सुदिप चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकसमेत २ जनालाई जिल्ला अस्पताल हुँदै थप उपचारको लागि विराटनगरतर्फ रिफर गरिएको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मृत फेला
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल ओख्रेनी बस्ने ३२ वर्षीय भिम कुमारी राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन्।
कास्की, पोखरा महानगरपालिका-१४ भोटेचौतारास्थित भिरमा सोही महानगरपालिका-१४ सेती दोभान बस्ने ७३ वर्षीय ईन्द्र जिसि शनिबार मृत अवस्थामा फेला परेका छन्।
रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ बस्ने ५५ वर्षीय अरमान नाउ मुसलमान सोही ठाउँस्थित तेलार खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी तनहुँको म्याग्दे गाउँपालिका-५ धारापानी थाङदीस्थित सेती नदीको किनारमा अन्दाजी ३५ वर्षीय पुरुष, रामेछापको मन्थली नगरपालिका-१ हाटेचौरस्थित तामाकोशी नदीको किनारामा अन्दाजी २२ वर्षीय पुरुष, सर्लाहीको मलंगवा नगरपालिका-९ स्थित कृष्णमती माध्यमिक विद्यालयको बराण्डामा अन्दाजी ३२ वर्षीय पुरुष, मकवानपुरको भिमफेदी गाउँपालिका-८ माण्डुस्थित बागमती खोलामा अन्दाजी १७ वर्षीया किशोरी र रोल्पाको सुनछहरी गाउँपालिका-७ खागलास्थित भिरमा एक जना मानिस शनिबार मृत अवस्थामा फेला परेका छन्। उनीहरु सबैको हाल नाम, थर, वतन खुल्न सकेको छैन। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
पहिरोमा पुरिएर दुईको मृत्यु
काठमाडौं, तारकेश्वर नगरपालिका-५ च्वँगाउँ कृष्ण मन्दिरस्थित चन्द्र तामाङको टहरो वर्षाका कारण शनिबार राति पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा उक्त टहरोमा डेरा गरी बस्ने नुवाकोट सामरी गाउँपालिका घर भएका ४१ वर्षीय गणेश तामाङ र उनकै छोरी १४ वर्षीया आस्मा तामाङ रहेका छन्।
पहिरोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएकोमा उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो। साथै पहिरोमा पुरिएर घाइते भएकी गणेशकी श्रीमती ३५ वर्षीया सन्जु तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
फेवा तालमा डुबेर बालकको मृत्यु
कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड केदारेश्वर मन्दिर पछाडि फेवा तालमा डुबेर सोही महानगरपालिका-६ जरेबर बस्ने १२ वर्षीय कुशल पुलामी मगरको शनिबार दिउँसो मृत्यु भएको छ। चार जना बालकहरु पौडी खेल्ने क्रममा कुशल डुबेको भन्ने खबर प्राप्त हुनासाथ गण्डकी प्रदेश प्रहरी गणसमेतको उद्दार टोलीले उद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।