काठमाडौं– भारतको उत्तराखण्डमा ठूलो वर्षापछि आएको बाढीपहिरोका कारण १७ नेपालीसहित १९ जना बेपत्ता भएको पुष्टिपछि परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका मुख्यमन्त्री पुष्पकर सिंह धामीलाई फोन गरेर खोजीमा तदारुकता देखाउन आग्रह गरेका छन्।
रोजगारीका लागि उत्तराखण्डको गौरीकुण्डमा रहेका १७ नेपाली बिहीबार रातीबाट परेको निरन्तर वर्षापछि अकस्मात आएको बाढीपहिरोमा परेर बेपत्ता भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
आज उत्तराखण्डका मुख्यमन्त्री धामीलाई फोन गरेर साउदले रुद्रप्रयागस्थित गौरीकुण्डमा गएको पहिरोमा बेपत्ता भएका नेपालीको खोजी तथा उद्धार गरिदिन आग्रह गरेका हुन्। मुख्यमन्त्री धामीले आज बिहानैदेखि बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी र अन्य निकाय परिचालित भइसकेको बताएको परराष्ट्रमन्त्री साउदको निजी सचिवालयले जनाएको छ।
परराष्ट्रमन्त्री साउदले शुक्रबार दिल्लीस्थित नेपाली दूतावासलाई भारत सरकारसँग समन्वय गरेर बेपत्ता भएका नेपालीको खोज, उद्धार तथा राहतमा सक्रियता दिन निर्देश गरेका थिए।
बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावतलगायत सात जना, हुम्लाका १० र दुई जना भारतीय नागरिक रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ।
उत्तराखण्ड राज्यको गौरीकुण्डमा होटल सञ्चालन गर्दै आएका हुम्लाका वीरबहादुरको होटलमा खाना खान लागेका बेला पहिरोले होटलै बगाएको थियो। पहिरोमा होटल सञ्चालक वीरबहादुरसहित उनकी पत्नी सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्।
पहिरोले बगाएको होटलमा खाना खान गएका धर्मराज बुढा र उनका छोरा मानबहादुर बुढा, अमर बोहरा, उनका छोरा मानबहादुर, पृथ्वी, जटिल र वकिल, पत्नी अनिता, छोरीद्वय राधिका र पिंकी पनि बेपत्ता भएका छन्।
उत्तराखण्डको पहिरोमा परेर १७ नेपाली बेपत्ता भएपछि खोज तथा उद्धारका लागि भारत सरकार र त्यहाँको स्थानीय निकायसँग निरन्तर सम्पर्कमा रहिरहेको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद अधिकारीले बताए।
उत्तराखण्ड गौरीकुण्डको स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि पहिरोमा परेर बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि पहल गरिरहेको उनले जानकारी दिए।