काठमाडौं- सरकारले ३ साउनमा त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरणमा सबै छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिने तयारी गरेको छ।
अवैध सुन प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्याउन थप अनुसन्धानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि संगठित अपराध अनुसन्धानमा परिणाममुखी नतिजा दिँदै आएको सीआईबीलाई जिम्मा लगाउन लागिएको हो।
अवैध सुन प्रकरणको छानबिनलाई थप गति दिन बिहीबार बेलुकीमात्रै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण वज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेको स्रोतको भनाइ छ। सोही छलफलमा अवैध सुन प्रकरणको थप अनुसन्धान सीआईबीमार्फत गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका हुन्।
हाल राजस्व अनुसन्धान विभागले अवैध सुन प्रकरणबारे छानबिन गरिरहेको छ। विभागले केही दिनअघि नेपाल प्रहरीको सहयोग पनि मागेको थियो। अवैध सुन प्रकरणको छानबिनलाई निष्कर्षमा लैजान सीआईबीले सूक्ष्म अनुसन्धान गरिरहेको भए पनि सरकारले दिएको जिम्मेवारीपछि दायित्व झनै बढेको सीआईबीका निर्देशक किरण वज्राचार्यले प्रतिक्रिया दिइन्।
राजस्व अनुसन्धान विभागले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक सु बरामद गरेको थियो। अवैध सुन प्रकरणमा हालसम्म चिनियाँ, भारतीय, बेल्जियन र सहयोगीका रुपमा रहेका नेपाली नागरिक पक्राउ परे पनि मुख्य तस्करको मालिक को हो भन्नेबारे अझै अन्योल छ।
अवैध सुन प्रकरणमा सीआईबीलाई संगठित अपराधको कसुरमा छानबिनको अन्तिम जिम्मा दिइए पनि राजस्व अनुसन्धान विभागमार्फत पनि राजस्व छलीको कसुरमा अनुसन्धान हुनेछ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरुको लाइनमा अवैध सुन कारोबारले फस्टाउने अवसर पाइरहेको विभिन्न सञ्चारमाध्यमबाट समाचार प्रकाशित र प्रसारण भइरहेका छन्। यद्यपि अवैध सुन प्रकरणमा दाग लागेका माओवादी केन्द्रका नेताहरुले सबै आरोपलाई खारेज गरिदिएका छन्।
अवैध सुन प्रकरणमा सीआईबीलाई संगठित अपराधको कसुरमा छानबिनको अन्तिम जिम्मा दिइए पनि राजस्व अनुसन्धान विभागमार्फत पनि राजस्व छलीको कसुरमा अनुसन्धान हुनेछ।
विभागले ३ साउनमा भन्सारबाट सुनसहितको सामग्री बरामद गर्दा सामग्री बाहिर ल्याउने ट्याक्सी चालक अशोक लामालाई पक्राउ गरेको थियो। त्यतिबेला भन्सार जाँचपासमा संलग्न एजेन्ट राजेन्द्र राई पनि पक्राउ परेका थिए। अर्को दिन विभागले नेपाल प्रहरीको विशेष ब्युरोको सहयोगमा सुनसहितको सामग्री ल्याउने रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई र तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङलाई पक्राउ गरेको थियो ।
त्यसपछि ४ साउनमा विभागको टोलीले बालुवाटारस्थित गोदाममा छापा हानेर चिनियाँ नागरिकले खोजी गरेको थियो। प्रहरी टोलीले अवैध सुन कारोबारका मुख्य नाइके भनिएका चिनियाँ नागरिक ज्यास्याङ निलाई दरबारमार्गबाट पछ्याउँदै विमानस्थलबाट १३ साउनमा पक्राउ गरेको थियो। सोही दिन तिब्बती मूलका बेल्जियन नागरिक दाबा छिरिङ पनि पक्राउ परेपछि अवैध सुन प्रकरणको अनुसन्धान रहस्यमय बन्दै गएको छ।
विभागको टोलीले अवैध सुन भण्डारण गरिराखिएका सोह्रखुट्टे, बालुवाटार, लाजिम्पाट र टोखास्थित गोदाममा छापा मार्दा चार वटा सुन पगाल्ने उपकरण बरामद गरेको छ।
अवैध सुन प्रकरणको हालसम्मको छानबिनबारे बिहीबारको छलफलमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री नारायणकाजी, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर र सीआईबी प्रमुख वज्राचार्यसँग छलफल गरेका थिए।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन्। बरामद अवैध सुन तौलिन राष्ट्र बैंकको टक्सार महाशाखामा राखिए पनि हालसम्म जोखिएको भने छैन।