काठमाडौं- अस्तु सेलाउन भनेर देवघाट पुगेका एक युवा नारायणी नदीमा बगेर बेपत्ता भएका छन्। देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङको तुलसीपुर उपमहानगरपालिका-१२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल बेपत्ता भएका हुन्।
आज बिहान उनी आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट गएका थिए। रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएकामा भारतको लखनउमा मृत्यु भएको थियो। रेमन्तको शव तुलसीपुर-१२ बबई घाटमा अन्त्येष्टि गरिएको थियो। त्यसपछि लोकेन्द्र अस्तु सेलाउन भनेर देवघाट आएका थिए।
अस्तु सेलाउन नदीमा पसेका भुसाल बगेको प्रहरीले बताएको छ। नदी किनारमा उनको मोबाइल, पर्स र कपडा भेटिएको छ।