काठमाडौं- चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रवि लामिछानेले महिलालाई मात्रै लक्षित गरेर 'ब्लु बस' सञ्चालन गरेपछि मिश्रित प्रतिक्रियाहरु आइरहेका छन्। कतिपयले यो कामलाई सकारात्मक भनेका छन् भने कतिले राजनीतिक स्टन्टबाजी।
ब्लु बससँगै लामिछानेले ‘मोबाइल क्लिनिक’ पनि सुरु गरेका छन्। ६५ वर्षभन्दा माथिका मानिसलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले मोबाइल क्लिनिक चलाउन लागिएको हो। यसबाट हरेक दिन नयाँ-नयाँ टोल पुगेर प्राथमिक उपचार दिइने बताइएको छ।
यसैबीच, रविले तामझामका साथ चलाउन लागेको मोबाइल क्लिनिक सवारीसाधन भारतले अनुदानमा दिएको पाइएको छ। निलो रंगले पोतेर नयाँ स्वरुप दिइएको यो गाडी २०७१ सालमा भारतीय दूतावासले पुरानो मेडिकल कलेज भरतपुरलाई दिएको खुलेको छ। उक्त गाडी 'एम्बुलेन्स' लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेर रविले आफ्नो निर्वाचन क्षेत्रमा चलाएका हुन्।
रास्वपाले रंग परिवर्तन गर्नुअघि एम्बुलेन्स सेतो रंगको थियो। रास्वपाको झण्डाको रंगसँग मिल्दोजुल्दो हुने गरी एम्बुलेन्समा निलो रंग लगाएर ‘मोबाइल क्लिनिक’ नाम दिइएको थियो।
हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको भारतले यो गाडी पनि उक्त कलेजलाई अनुदानमा दिएको थियो। ना २ च ५६१९ नम्बरको यो गाडी कसरी रविको हातमा पुग्यो भन्ने खुलेको छैन।