शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राप्रपाको अवरोधपछि बालेनले भत्काउन सकेनन् पार्टी कार्यलय भवन

राप्रपाको अवरोधपछि बालेनले भत्काउन सकेनन् पार्टी कार्यलय भवन

 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय भत्काउने मेयर बालेन शाह र काठमाडौँ महानगरपालिकाको प्रयास विफल भएको छ। महानगरपालिकाको टोली डोजरसहित कार्यालय नजिक पुगेपछि राप्रपाका नेता कार्यकर्ताको अवरोध र शक्तिकेन्द्रसँग अध्यक्ष राजेन्द्र लिङ्देनको परामर्शपछि आज कार्यालय जोगिएको हो। 

National life

यसअघि शुक्रबार महानगरपालिकाले हाइटेन्सन लाइनमुनि पार्टी कार्यालय रहेको भन्दै हटाउने उर्दी जारी गरेको थियो। सोमबारसम्म दिइएको समयमा राप्रपाले पार्टी कार्यालय नहटाएपछि महानगरले डोजर लगाएर हटाउने प्रयास गरेपनि विफल भएको हो। 

बिहानैदेखि राप्रपाको कार्यालय धुम्बाराही परिसरमा पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो भने कार्यालय नजिक गाडीसमेत तेर्स्याएर अवरोध गरिएको थियो। 

 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कार्यालय जोगाइदिन गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत हारगुहार गरेको बताइएको छ। त्यसपछि श्रेष्ठकै निर्देशनमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समन्वय गरेपनि राप्रपाले महानगरपालिकाले बलजफ्ती गरेको भन्दै विरोध जारी राखेको छ। विद्युत् प्राधिकरण र महानगरका प्रतिनिधिसहितको बैठकमा कुनै सहमति नभएको र प्रशासनले पनि प्रहरीको ब्याकफोर्स नदिएपछि आज भवन जोगिएको बताइएको छ। 

यसैबीच राप्रपाका मुख्यसचिव केदार अधिकारी र नेता निरञ्जन थापाले महानगरपालिकामा पत्र दर्ता गराएका छन्। पत्रमा भवन भत्काउनुको लिखित जानकारीसहित महानगरको कार्यक्षेत्र लगायतका विषयमा प्रश्न गरिएको छ। 

Shivam cement

तर, महानगरपालिकाले राप्रपाको पत्र चित्तबुझ्दो नभएको जनाएको छ। महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र चित्तबुझ्दो नभएको र यसबारे आफूहरू छलफलमै रहेको बताए। 

प्रकाशित: Jul 31, 2023| 20:00 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्