शुक्रबार, साउन २३, २०८२

आलु बिक्रीबाट राम्रो आम्दानी गर्दै गंगादेवका किसान

 |  सोमबार, साउन १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

vianetvianet

रोल्पा- गङ्गादेव गाउँपालिकाका किसानलाई यतिबेला आलु स्याहार्न भ्याइनभ्याइ छ। उनीहरुको दैनिकी बिहानैदेखि बेलुकासम्म आलु खन्ने र प्याकिङ गर्नमै बित्ने गरेको छ। आजभोलि कोही आलु खनेर बोरामा प्याकिङ गर्न त कोही गर्न मोटर बाटोसम्म बोरा ओसार्न व्यस्त देखिन्छन्।

यहाँ माघ–फागुनमा रोपेको आलु जेठ अन्तिम साताबाटै खन्न सुरु भइसकेको छ। यहाँ हिउँदे र वर्षे गरी दुई किसिमको आलु उत्पादन हुन्छ। सिँचाइको पहुँच भएका ठाउँमा  माघको पहिलो हप्तादेखि आलु खेती गरिन्छ भने सिँचाइको पर्याप्त सुविधा नहुने स्थानमा  फागुन अन्तिम र चैतको पहिलो हप्तादेखि आलु खेती गरिने किसानको भनाइ छ।

बाली स्याहार्न धेरै दुःख नहुने र छोटो समयमै उत्पादन दिनुका साथै  आम्दानी पनि राम्रो हुने भएकाले गङ्गादेव गाउँपालिकाका अधिकांश किसान आलु खेतीतर्फ आकर्षित छन्। आलुले सामान्यतयाः ९० दिनमा प्रतिफल दिन सुरु गरिसक्छ।

गङ्गादेव–३ का किसान पार्वती केसीलाई पनि वर्षभरिको घर खर्चको जोहो आलु खेतिबाटै हुन्छ। “हामिले घर खर्च चलाउने भनेकै आलुखेती हो। आलु किन्न व्यापारी घरमै आउँछन् बेच्नका लागि कुनै समस्या छैन”, केसीले भने। गङ्गादेव गाउँपालिकाका सबै वडामा आलु खेती राम्रो हुने भए पनि वडा नं. ३ आलुखेतीका लागि राम्रो मानिन्छ।

आलु यहाँको मुख्य नगदेवाली भएकाले गाउँपालिकाको कृषि शाखाले आलु खेती विस्तार, बजारीकरणलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका कृषिशाखा प्रमुख टीका रामवलीले भने। यहाँ प्रत्येक किसानले न्यूनतम ३० देखि बढीमा दुई सय २० क्विन्टलसम्म आलु उत्पादन गर्ने गरेको उनको भनाइ छ।

Metro Mart

जेठ पहिलो सातादेखि हालसम्म यहाँबाट करिब १९ हजार क्विन्टल आलु बाहिर गइसकेको छ। यसपटक गङ्गादेवमा करिब ४० हजार क्विन्टल आलु फलेको र असोजसम्म सबै आलु बाहिरिसक्ने गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वलीको भनाइ छ। यसपटक करिब  १२ करोड बराबरको आलु बिक्री हुने अपेक्षा गरिएको उनले बताए।

यहाँ उत्पादन हुने आलु दाङ, बुटवल, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको छ। गंगादेवगाउँपालिकाले विशेष त आलु पकेट क्षेत्र, आलु ब्लक कार्यक्रम जिल्ला, आलु बिकास कार्यक्रम खुमलटारसँगको समन्वयमा काम गर्दै आएको छ। गाउँपालिकाले चालु आवमा विज्ञ नै बोलाएर तालिम समेत दिने योजना बनाएको छ।

गङ्गादेव गाउँपालिकामा आलु बीउका लागि रष्ट्रिक स्टोरको समस्या भएको हुदा आलुको बीउ सुधारका लागि विभिन्न खालका रष्ट्रिक स्टोर निर्माण गर्ने र किसानलाई बीउ सुधारको लागि नयाँ आलुको मूल तथा उन्नत बीउको पहिलो पुस्ता नै वितरण गर्ने लक्ष्य लिइएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर पुनले बताए।

उनले आलुको उत्पादन बढाउन ठाउँमा सिँचाइका पहुँच पुर्‍याउने समेत लक्ष्य लिइएको बताए। “गङ्गादेव गाउँपालिकाले कृषिलाई विशेष प्राथामिकता दिएको छ। लुम्बिनी प्रदेशभर यहाँको आलुको चर्चा हुने गरेको छ”, उनले भने।

प्रकाशित: Jul 31, 2023| 22:47 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्