पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र संगितको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तरक्रियामा उनले गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र संघबाट आउने अनुदानसमेत घट्दा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको बताए।
मन्त्री पाण्डेले भने, ‘बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउँदैन।’ नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने जनाउँदै उनले मुलुकलाई संघीयतामा लगे पनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको जनाए।
‘हामीले परिवर्तन त गर्यौँ तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौँ, सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ’, मन्त्री पाण्डेले भने। केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उनको जोड थियो।