शुक्रबार, साउन १५, २०८३

सिरहाको बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

सिरहा- सिरहाको लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ। 

नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो। यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ। 

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशङ्कर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो।

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०–०८१ मा लहान नगरपालिकाबाट ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए। यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

लहान नगरपालिका–२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ नं वडा र भगवानपुर गाउँपालिकाको १ र ४ नं वडाको गरी सयौँ बिघा उर्वर जमिन वर्षौँदेखि कटान भइरहेको लहान–२३ का अजय यादवले बताए।

वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ।

प्रकाशित: Jul 30, 2023| 10:16 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्