शुक्रबार, जेठ २९, २०८३

कर्मचारी अभाव हुँदा यातायात कार्यालयको सेवा प्रवाहमा समस्या

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ।

National life

कार्यालयमा आवश्यकतानुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए।

कार्यालयमा १८ जनाको दरबन्दीमा सात जना मात्रै कर्मचारी रहेको उनले बताए। ‘दरबन्दी अनुसार  कर्मचारी  छैनौँ, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ’, कार्यालय प्रमुख घर्तीमगरले भने। करारमा रहेका छ कर्मचारी हटेसँगै थप समस्या भएको उनको भनाइ छ।

चालु आर्थिक वर्षदेखि करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ। कर्मचारी कम हुँदा कार्यालयबाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको छ।

कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्तीमगरले बताए।

Shivam cement

समयमा काम गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्न सक्ने भएकाले थप कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग उनले आग्रह समेत गरे।

पूर्व-पश्चिम राजमार्गको मध्यभागमा रहेको कार्यालय हुँदा सवारी चालक अनुमतिपत्रका लागि यस कार्यालयमा धेरै सेवाग्राही आउने गरेका छन। यसैबीच कार्यालयले गत आर्थिक वर्षमा ३१ करोड बढी राजस्व संकलन गरेको छ।

आर्थिक वर्ष २०७९/०८० मा कार्यालयबाट उपलब्ध विभिन्न सेवासुविधा प्रवाह गरेबापत ३१ करोड ६६ लाख ४८ हजार ४५ राजस्व संकलन गरेको कार्यालय प्रमुख घर्तीमगरले जानकारी दिए।

आव २०७८/७९ मा २६ करोड ६६ लाख ६९ हजार पाँच सय ४८ राजस्व संकलन भएको थियो। गत आवमा यातायात क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क, चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारीसाधन कर संकलन, सवारी आयकरलगायत सेवा शुल्कमा केही रकम वृद्धिसँगै पहिलेको तुलनामा गत आवम चार करोड ९९ लाख ७८ हजार चार सय ९७ बढी राजस्व संकलन भएको हो।

सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्डलगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ।

प्रकाशित: Jul 30, 2023| 08:46 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्