शुक्रबार, साउन २३, २०८२

बेचिएर फर्किएका महिलाको जीवनयापनमा 'सम्मान परियोजना'

 |  शनिबार, साउन १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

vianetvianet

काठमाडौं- बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग गर्ने उद्देश्यले राष्ट्रिय व्यावसायिक पहलद्वारा सञ्चालित ‘सम्मान परियोजना’को आयोजनामा शनिबार बुटवलमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

बुटवल उद्योग वाणिज्य संघको सहकार्यमा बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले नेपालमा समावेशी सामाजिक-आर्थिक विकासको माध्यमबाट दिगो शान्ति स्थापना गर्ने उद्देश्यले निजी क्षेत्रको अग्रणी संस्थाहरूको सहभागितामा बेचिएर फर्किएका महिलालाई सहज जीवनयापनमा सहयोग गर्ने उद्देश्यले काम गरिरहेको बताए। 

उनका अनुसार यो संस्था असल व्यावसायिक अभ्यास, सामाजिक उत्तरदायित्व, उद्यमशीलता प्रवद्र्धन र समावेशी आर्थिक विकासको क्षेत्रमा क्रियाशील छ। 

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र संयुक्त अधिराज्यको युके एडको सहयोगमा विनरक इन्टरनेसनलले कार्यान्वयन गर्दै आइरहेको हाम्रो सम्मान जिम्मेवार उद्योगी, सरकारी तथा गैरसरकारी संस्था एवं नागरिक समाज र व्यवसायीको सञ्जाल निर्माण गरी मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ। 

परियोजनाअन्तर्गत राष्ट्रिय व्यावसायिक पहलले निजी क्षेत्रलाई मानव बेचबिखनविरुद्धका कार्यमा सक्रिय बनाउँदै आएको छ। यसै क्रममा निजी क्षेत्रले मानव बेचबिखन रोकथाम गर्ने तथा शोषणमा परेकालाई सेवा र सहयोग उपलब्ध गराउन प्रतिबद्ध गराउने जिम्मेवारी लिएको उनले बताए।

Metro Mart

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले मानव बेचबिखन न्यूनीकरण र बेचबिखनमा परेकाहरूको उद्धारमा स्थानीय तह पनि जिम्मेवार हुनुपर्ने बताए। उनले स्थानीय तह आफैँमा स्रोत, साधन र अधिकारसम्पन्न भएकाले त्यस्ता व्यक्तिको उद्धार र पुनःस्थापनाका लागि काम गर्न कुनै समस्या नहुने औँल्याए।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सम्मानजनक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सकियो भने सुसंस्कृत समाज निर्माण गर्न सकिने बताए। त्यस्तै बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले परियोजनाले अगाडि सारेका कुरामा नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

माइती नेपालका गङ्गामाया थापाले बेचिएकासँगै जोखिममा रहेकालाई पनि यो कार्यक्रममा समेट्न सके अझै राम्रो हुने भनाइ राखे। परियोजनाका कार्यक्रम संयोजक योगिता बज्राचार्यले काठमाडौँ, रुपन्देहीसहित १० जिल्लामा अभिमुखीकरण गरिएको १९ संघसंस्था र ३५ कम्पनी यो सञ्जालमा समेटिएको जानकारी गराए। 

लक्षित वर्गको आवश्यकतानुसार निजी क्षेत्रबाट कानुनी सेवा, शिक्षा, तालिम तथा रोजगारी, यातायात सेवा, स्वास्थ्य तथा मनोपरामर्श सेवा, व्यवसाय गर्न सहयोग, आर्थिक सहयोग, आवासलगायतका सेवाका क्षेत्रमा सहयोगको प्रतिबद्धता व्यक्त भएको उनले जानकारी गराए। 

प्रकाशित: Jul 29, 2023| 20:00 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्