शुक्रबार, जेठ २९, २०८३

पहिराले मुहान र पाइप बगायो, खानेपानीको समस्या

 |  शुक्रबार, साउन १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १२, २०८०

ढोरपाटन- निरन्तर वर्षाका कारण खसेको पहिराले खानेपानी मुहान र पाइप बगाउँदा बागलुङको गलकोट नगरपालिका–११ रिघाको सिङ्गो गाउँमा पानीको समस्या भएको छ।

National life

रिगा खानेपानी आयोजनाको मुहान माथिदेखि झरेको पहिराले २५ मिटर पाइप लाइनसहित मुहानलाई क्षतविक्षत बनाएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबहादुर श्रीसले जानकारी दिए। खानेपानीको समस्या समाधान गर्न विसं २०६८ मा रिघा गाउँदेखि १८ किलोमिटर टाढा गलकोट नगरपालिका–१० पाण्डपवखानीस्थित मूलबाट पानी ल्याइएको उनको भनाइ थियो। चार दिनदेखि धारामा पानी नआउँदा छ सय घरका तीन हजार बढी नागरिकले खानेपानीको समस्या भोग्नुपरेको छ।

“चार दिनभन्दा बढी भयो गाउँमा पानी आएको छैन, पानी नआउँदा स्थानीयवासीले समस्या भोग्नुपरेको छ, पहिराले २५ मिटर जिआइ पाइप बगाएको छ”, मुहानमा पनि ठूलो क्षति पुर्‍याएको छ”, वडाध्यक्ष श्रीसले भने, “गाउँलेलाई तत्कालका लागि खानेपानी समस्या समाधान गर्ने प्रयास गरेका छौँ, निरन्तर वर्षा भइरहेको हुँदा अहिलेसम्म पानी ल्याउन सकिएको छैन, अहिले अस्थायीरुपमा भए पनि पानी ल्याउने प्रयास भएको छ, बर्खा सकिए पछि दीर्घकालीनरूपमा समाधान गर्ने गरि काम गर्नुपर्छ।”

रिघा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ताराबहादुर पुनले चार दिनदेखि पानी नआउँदा सरसफाइ र घरायसी काम गर्न समस्या भएको बताए। पहिराले पाइप र मुहान बगाउँदा रिघा गाउँमा १२ वर्ष अगाडिको अवस्था आएको उनको भनाइ थियो। अहिले आकाशे पानीको भरमा स्थानीयवासीले गर्जो टार्ने गरेका छन्।

अध्यक्ष पुनले भने, “गाउँमा पानीको दुःख भयो भनेर धेरै मेहनत गरी टाढाबाट पानी ल्यायौँ, पानी आएपछि गाउँलेले सुखको श्वास फेरेका थिए, अहिले फेरि समस्या आयो, अहिले कोहीले बासी पानी खान्छन्, कोहीले आकाशको पानी खान्छन्, बर्खामा धारा सुख्खा छन्, पुरानो मुलको पानी ल्याउने कोसिस पनि गरिरहेका छौँ।”

Shivam cement

प्रकाशित: Jul 28, 2023| 20:02 शुक्रबार, साउन १२, २०८०
प्रतिक्रिया दिनुहोस्