शनिबार, साउन २४, २०८२

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो

 |  बिहीबार, साउन ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

vianetvianet

काठमाडौं- देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन। साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन्।

जिल्लाको बढी धान हुने माडी फाँट, मन्थली फाँट मुगिटार फाँट, खिम्ती बेसी, तिल्पुङ हलेदे बेँसीलगायतका ठाँउमा उल्लेख्यरुपमा अझै धान रोपाइँ हुन सकेको छैन। पानीका भल छोपेर रोप्नुपर्ने पाखे खेतमा रोप्न राखिएको धानको बीउ छिप्पिन लागिसकेको छ। बीउ छिप्पिएपछि धान रोप्नु र नरोप्नुको कुनै अर्थ नहुने कृषि विज्ञ बताउँछन्।

धान रोप्नेमात्र नभई पाखो बारीमा छरिएका बर्खे बाली मकै, गहत, कोदोलगायतका बाली पनि खडेरीका कारण सुक्न लागेका हुन्। जिल्लामा बिहान बेलुका सामान्य धुलो मर्ने गरी कहिलेकाहीँ पानी पर्ने गरेको भए पनि जमिन भिज्ने र खोलानाला आउने गरी दुई महिनाअघिदेखि पानी पर्न सकेको छैन।

जिल्लामा रहेको कूल खेतीयोग्य जमिन ५० हजार नौ सय आठ हेक्टर रहे पनि धान रोप्न योग्य जमिन सात हजार आठ सय ५९ हेक्टर रहेको छ। त्यसमध्ये अहिलेसम्म करिब ४४ प्रतिशत मात्र धान रोपिएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्र प्रमुख निर्मला गुरुङका अनुसार वर्षाको समयमा पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन नसकेको हो। यसअघि असार १५ गते धान रोपेर धान दिवस जिल्लाका विभिन्न पालिकामा मनाइएको भए पनि त्यसपछि भने पर्याप्त वर्षा नहुँदा जिल्लाका किसानले धान रोप्न पाएका छैनन्।

Metro Mart

रामेछापमा मात्र होइन सिन्धुलीका बढी धान उत्पादन हुने सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिकामा पनि पर्याप्त धान रोपाइँ हुन नसकेको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताए।

प्रकाशित: Jul 27, 2023| 22:02 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्