काठमाडौं- बागमती प्रदेशमा बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटेको छ। यसअघि बागमती प्रदेशले ११ जेठमा गाडी भाडादर समायोजन गरेको थियो।
नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो। बागमती प्रदेशअन्तर्गत श्रम,रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्रअनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ।
यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ।
उक्त भाडादरमा १५ केजीसम्म यात्रुले निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ। भाडादर समायोजन भएसँगै काठमाडौंबाट सबैभन्दा लामो दुरी धुलिखेल–खुर्कोट– मन्थली–तामाकोशी हुँदै जिरीसम्मको भाडा २३ रुपैयाँले घटेको छ। अब कामाडौंदेखि जिरीसम्म पुग्न ९ सय ८६ रूपैयाँ लाग्ने छ। यसअघि जिरीसम्मको भाडा १ हजार ९ रुपैयाँ थियो।