काठमाडौं- बिहीबार नेपाली कांगेसको केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यहरूले धारणा राखे। यही क्रममा पालो आयो डोल्पाका नेता कर्ण बुढाको।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य रहेका बुढा राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका नेता हुन्। उनी कांग्रेस प्रवेश गरेको कार्यक्रममा नै ५० जना भन्दालाई लिएर आएका थिए। तर उनीहरूले क्रियाशील सदस्यता पाएका छैनन्। यही गुनासो उनले देउवासमक्ष राखेका थिए।
'हामी लामो समय अर्को कुनै पार्टीमा काम गरेर नेपाली कांग्रेस प्रवेश गरेका हौँ। तर हामीले अझसम्म क्रियाशील सदस्यता पाएका छैनौँ। निकट भविष्यमा नै कांग्रेसको महाधिवशेन आउँदैछ। क्रियाशील सदस्यता नै नभएपछि कसरी महाधिवेशनमा भाग लिने? यो त हामीमाथि अन्याय भयो। हामीलाई क्रियाशील सदस्यता उपलब्ध गराइयोस्। डोल्पामा कांग्रेसले चुनाव जित्ने वातावरण बन्छ।'
बुढा बोल्ने क्रम जारी थियो। उनले आफ्ना भनाइ राखिसकेकै थिएनन्। तर देउवाले बीचैमा बुढालाई रोकेर भने- 'तपाईंले न्याय पाउनुहुन्छ। मैले कुरा बुझेँ। अब भोलि, भोलि, भोलि!'
यसपछि कांग्रेस बैठक बिहीबारका लागि स्थगित भयो। बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ।