अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसिसिएन)को डिनमा चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाल नियुक्त भएका छन्। एचसिसिएनको १६औँ साधारणसभा तथा चार्टर डेमा सभाले अग्रवाललाई नयाँ डिनका रूपमा नियुक्त गरेको हो।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यक्रमको उद्घाटन गर्दै नेपालको दौत्य सम्बन्ध रहेका, तर आवासीय राजदूतावास नभएका विभिन्न ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरेका थिए। उनले भने, ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाइराख्नु आजको आवश्यकता हो। यसमा एचसिसिएनको सहयोग रहने अपेक्षा गरेका छौँ।’ नेपालमा लगानीका सम्भावना भएका क्षेत्रहरू धेरै रहेकाले विदेशी लगानी आकर्षित गर्न र नेपालले भोगिरहेको जलवायु परिवर्तनको समस्याको समाधानका लागि सम्बन्धित राष्ट्रसँग समन्वय गर्न आवश्यक रहेको उनको भनाइ थियो।
परराष्ट्रमन्त्री एनपी साउदले एचसिसिएनका सदस्य देशहरूलाई नेपाल भ्रमणका लागि मात्र गन्तव्य नभई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे। एचसिसिएनका डिन दिनेश श्रेष्ठले भियना कन्सभेन्सनअन्तर्गत रहेर एचसिसिएन र यसका सदस्यहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको बताए। नेपाल भ्रमणमा रहेका एचसिसिएनको सम्बन्ध नागरिकको सुरक्षा र हेरचाहमा कुनै कमी नल्याएको उनको भनाइ थियो।
सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो। भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लू ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक हुन्। उनलाई सन् २०१९ मा चेक रिपब्लिकको प्रागमा आयोजना भएको वर्ल्ड अनररी कन्सुलमा संसारकै सर्वोत्कृष्ट कन्सुल अवार्डबाट सम्मान गरिएको थियो।