काठमाडौं– बाँकेको राप्ती नदीको बीचमा रहेको टापुमा फसेका पाँच जना स्थानीयको सकुशल उद्धार गरिएको बाँके प्रहरीले जनाएको छ। राप्ती सोनारी गाउँपालिका–४ लालपुरस्थित नदीको बीच टापुमा फसेका पाँच स्थानीयको सकुशल उद्धार गरिएको हो।
इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो। स्थानीय लालपुर गाउँको उत्तरतर्फ नदीको बीच टापुमा रहेको गौशालामा गाई रेखदेख गर्न गएका एक महिलासहित पाँच जना स्थानीय टापुमा फसेका थिए।
उनीहरु गौशालामा पुगेपछि राप्ती नदीको बहाव दुवैतिरबाट बढेपछि उक्त टापुमा फसेको प्रहरी जनाएको छ। टापुमा फसेका राप्ती सोनारी ४ पशरामपुरका चुकीराम थारु, मायारमा थारु, बतासी थारु, लोकबहादुर थारु र सूर्यलालपुर गाउँका आशाराम थारुलाई ट्युब र सेफ्टी ज्याकेटको सहायताले सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक लक्ष्मीप्रसाद आचार्यले बताए।
जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै बाँकेमा नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको थियो।