शनिबार, साउन २४, २०८२

बाढीले सडक बगाउँदा जनजीवन कष्टकर

 |  बुधबार, साउन १०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, साउन १०, २०८०

vianetvianet

भोजपुर- राउते खोलाको बाढीले सडक बगाएपछि भोजपुरको पश्चिमी क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बनेको छ। गत जेठ ३१ र असार ८ गते आएको बाढीले खोलामा पर्ने ६ वटा सडक बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको छ। 

बाढीले धेरै ठाउँमा सडक गहिरो बनाएर कटान गर्दा मर्मत गरेर सञ्चालनमा ल्याउनसमेत समस्या देखिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए। बाढीले निकै ठूलो क्षति गरेकाले स्थानीय सरकारको पहँुचभन्दा बाहिर रहेको उनको भनाइ छ। ‘राउते खोलाको बाढीले हाम्रो वडामा करोडौंको क्षति भएको छ,’ वडाध्यक्ष माङ्गपाहाङ्गले भने, ‘यो खोला भएर बनेका सबै सडक बगाएको अवस्था छ। सडक अवरोध हुँदा दैनिकी निकै कष्टकर बनेको छ। यहाँको क्षतिको विषयमा राज्यले ध्यान आवश्यक छ।’

बाढीले १६ वटा सिँचाइ कुलोसँगै एक झोलुङ्गे पुल बगाएको छ। यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्‍याएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए। टेम्केमैयुङ–९ लेखर्कमा बाढीले ठूलो क्षति गरेकाले राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। जेठ ३१ गते राति आएको बाढीले एक इन्जिनीयरको ज्यान समेत गएको थियो।

‘बाढीका कारण १ महिनादेखि यातायात सञ्चालनमा समस्या छ,’ उनले भने, ‘खोलाले धेरै ठाउँमा कटान गरेकाले कतिपय बस्ती जोखिमा छन्। सिँचाइ कुलो बगाउँदा किसानलाई खेती गर्न समस्या रहेको छ। यस्तो अवस्था हुँदा पनि राज्यको खासै ध्यान पुगेको देखिँदैन।’

बाढीका कारण भोजपुर सदरमुकामबाट कोट पाँचधारे हुँदै छिमेकी जिल्ला खोटाङ जोड्ने यो सडक १ महिना बढी समयबाट अवरोध हुँदा जनजीवन कष्टकर बन्दै गएको स्थानीय मानबहादुर सुनारले बताए। जनतामा ठूलो विपत्ति पर्दासमेत राज्यको ध्यान नगएको उनको भनाइ छ।

Metro Mart

‘बाढीले यति ठूलो क्षति पुर्‍याउँदा पनि राज्य ध्यानले नदिएको जस्तो देखिन्छ,’ उनले भने, ‘बाढीले सडक बगाउँदा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ। तत्काल पहिलाको सडक भएको स्थान मर्मत गर्न सकिने अवस्था छैन। वैकल्पिक मार्गको खोजी गरेर भए पनि यातायात सञ्चालनमा ल्याउन पहल हुन आवश्यक छ।’

विभिन्न ठाउँमा बाढीले क्षति गरेपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय सन्तोष राईले बताए। छिमेकी जिल्ला खोटाङसँगै वडाका नागरिकलाई अस्पताल लैजान समस्या भएको उनको भनाइ छ। सडकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको उनले बताए।

‘बाढीले सडक बगाउँदा जिल्लाको पश्चिमी क्षेत्रको जनजीवन निकै कष्टकर बनेको अवस्था छ,’ उनले भने, ‘एक गाउँबाट अर्को गाउँमा जान नसक्ने अवस्था छ। बिरामीलाई अस्पताल पुर्याउन सकिने अवस्था छैन। उपचार नपाएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ।’

राउते खोलाको शिरमा डाँडापाखा रहेकाले वर्षा हुनासाथ आसपासको क्षेत्रमा धेरै जोखिम रहेको स्थानीय टंक घिमिरेले बताए। असार ८ गते खोला थुनिएर बाढी बस्तीमा पस्दा स्थानीयको घरसँगै अन्नबालीमा क्षति पुर्‍याएको उनको भनाइ छ। बाढीले अहिले सडक भएको स्थान गहिराएर लगेकाले अर्को ठाउँबाट सडक विस्तार गर्न आवश्यक रहेको घिमिरेको भनाइ छ।

प्रकाशित: Jul 26, 2023| 10:02 बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्