काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभिन्न जिल्लामा विवाद सिर्जना गरेको आरोप लागेको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा केन्द्रीय सदस्यहरूले विभिन्न जिल्लामा क्रियाशील सदस्यताका नाममा विवाद सिर्जना गर्ने तर दोष अर्कैलाई थोपर्ने भन्दै पौडेललाई आरोप लागेको हो।
बैठकमा बोल्दै हृदयराम थानीले आफ्नो जिल्लाको समस्या समाधान गर्ने पहल गर्न आग्रह गरेका थिए। 'रामचन्द्र दाइ! हाम्रो जिल्लाको समस्या समाधान गरिदिनुपर्यो,' थानीले पौडेललाई आग्रह गर्दै भनेका थिए।
यसको जवाफ भने पौडेलले दिन पाएनन्। बरु यसको जवाफ दिए सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने मोहन बस्नेतले। उनले रामचन्द्र पौडेलबाट कुनै पनि आश नगर्न थानीलाई आग्रह गरेका थिए।
'गोविन्दराज जोशीलाई तह लाउनका लागि पुष्कर ओझालाई उहाँले सहिद बनाउनु भयो। थानीजी उहाँबाट के आस गर्नुहुन्छ?,' थानीलाई बस्नेतले प्रतिप्रश्न गरेका थिए।
यसपछि बस्नेतले आफ्नो जिल्लामा पनि पौडेल समूहले विवाद सिर्जना गरेको आरोप लगाएका थिए।
गत निर्वाचनमा रामचन्द्र पौडेलको उम्मेदवारी रहेको तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रहेका गोविन्दराज जोशीले पनि उम्मेदवारी दिएका थिए। तर पछि उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। यसमा पौडेलको हात रहेको आरोप लाग्दै आएको छ। तर रामचन्द्रलाई नेकपा एमालेका किसन श्रेष्ठले पराजित भएका थिए।
ओझा कैलालीका नेता हुन्। उनले देउवापत्नी आरजुलाई चुनावमा असहयोग गरेको भन्दै कांग्रेसले कारबाही गरेको थियो।
पछि कांग्रेसका आधिकारिक उम्मेदवारलाई चुनावमा सहयोग नगरेको भन्दै कांग्रेसले जोशी र पुष्कर ओझालाई कारबाही गरेको थियो।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।