शनिबार, जेठ ३०, २०८३

कैलालीमा श्रमदान गरेर नदी नियन्त्रण

 |  सोमबार, साउन ८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

भजनी- कैलालीको भजनी नगरपालिका–९ का समाजसेवी होमबहादुर बोहरा चार दिनदेखि कान्द्रा नदी नियन्त्रणमा व्यस्त छन्। वर्षाको समय सुरु भएसँगै कान्द्रा नदीमा पानीको बहाव बढ्दै गएपछि सात महिनाअघि मात्रै निर्माण गरिएको झोलङ्गे पुल जोखिममा परेकाले उनकै नेतृत्वमा सयौँ स्थानीयवासी पनि नदी नियन्त्रणका लागि जनश्रमदानमा जुटेका हुन्।

National life

‘दिनप्रतिदिन नदीले कटान गर्न थालेपछि आसपासका बस्ती तथा पुल जोगाउन जैविक तटबन्धमा लागिएको हो’, समाजसेवी बोहराले भने, ‘नदीले पाँच मिटरभन्दा बढी जमिन कटान गरिसकेको छ। बलौटे माटो भएका कारण एकदिन आएको बाढीले पुल नै जोखिममा परेपछि जैविक तटबन्धको काम सुरु गर्नुपरेको हो।’

होमबहादुर बोहराले अगाडि भने, ‘पाँच सय मिटर जमिन कटान भइसकेको क्षेत्रमा १५ मिटर तल झोलुङ्गे पुल छ। पुलको दायाँबायाँ तटबन्ध नहुँदा कटानको जोखिममा परेको हो।’

स्थानीयवासीले नदी नियन्त्रणका लागि कुकाठ, बाँस, झारपात प्रयोग गरेर बोरामा बालुवा भर्दै जैविक तटबन्ध निर्माण गरिरहेका छन्। पुल निर्माण भएपछि कान्द्रामा सञ्चालन हुने डुङ्गा विस्थापित भएको छ भने नागरिकलाई पुलले आवागमनमा निकै सहज भएको छ।

वडा नं ९ र ४ का १ सय ५० भन्दा बढी गाउँलेले चार दिनदेखि निरन्तर दैनिक श्रमदान गरेर तटबन्ध निर्माण गरिरहेको वडा नं ९ का अध्यक्ष सञ्जित चौधरीले बताए।

Shivam cement

‘वडा नं ९ र ४ वडाका दैनिक डेढ सयदेखि दुई सय बढी हामीहरूले श्रमदान गरिरहेका छौँ। बल्लतल्ल बनेको पुल यसैवर्ष नदीको जोखिममा परेपछि पुल जोगाउन गाउँले लागेका हौँ’, वडाध्यक्ष चौधरीले भने, ‘वर्षौँदेखिको गाउँलेको माग रहेको झोलुङ्गे पुल नै खतरामा पर्ने देखेपछि श्रमदान गरेरै बचाउने प्रयास गरिरहेका छौं। कम्तीमा यो बर्खा पुल बचाउन सकियो भने अर्को वर्ष नदीमा तटबन्ध गरेर पुल बचाउन सकिन्छ।’

जैविक तटबन्ध निर्माणमा स्थानीय नागरिकका साथै नगरपालिकाका जनप्रतिनिधिसहित संघीय सांसदले पनि साथ दिएका छन्। संघीय सांसद गंगा चौधरी पनि स्थानीय नागरिकहरूसँगै जनश्रमदानमा सहभागी भएका थिए। नगरपालिकाका प्रमुख केवल चौधरी, वडाध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलगायतले पनि नदी नियन्त्रणका लागि स्थानीयसँग जनश्रमदान गरेका थिए।

सांसद चौधरीले जनताको माझमा गएर काम गर्न निकै आनन्द लाग्ने बताए। ‘पुल निर्माण भएपछि त्यसको आसपासको क्षेत्रमा निर्माण कम्पनीले तटबन्धको काम गर्नुपर्ने थियो, त्यो नहुँदा नदीले कटान गरेपछि पुल जोखिममा परेको हो’, उनले भने, ‘यसवर्ष जसोतसो पुल जोगाउने काममा स्थानीयवासी लागेका छन्। बर्खा सकिएपछि तटबन्धको काम हुने भएकाले पुल जोखिममा पर्नेछैन।’

पुल कसले निर्माण गरेको हो भन्नेसम्म थाहा छैन। नगरपालिकाका इञ्जिनियर अनिश श्रेष्ठले आयोजना कसको हो भन्ने थाहा नभएको बताए। ‘सङ्घ र प्रदेशका आयोजनाको बारेमा नगरपालिकालाई प्रायः थाहा हुँदैन। त्यो आयोजना पनि थाहा भएन’, इञ्जिनियर श्रेष्ठले भने, ‘आयोजनाबाट समन्वय नहुँदा यस्ता कयौं आयोजनामा नगरपालिकालाई थाहै हुँदैन। हामीसँग सङ्घ र प्रदेशको समन्वय नहुँदा हामीलाई पनि समस्या हुँदै आएको छ।’ पुल निर्माण गरेको निर्माण कम्पनीको बारेमा कसैलाई जानकारी नै छैन। बजेट कसको हो भन्ने पनि थाहा छैन।

पुल निर्माणको काम सकेर निर्माण कम्पनी पुलको उद्घाटन नै नगरी भागेको वडा नं ९ का वडाध्यक्ष सञ्जित चौधरीको गुनासो थियो। स्थानीयबासी बिहानैदेखि नदीमा जैविक तटबन्धका लागि लाग्ने गरेका छन्। दिनभर काम गर्दा त्यहाँ पिउने पानीकोसमेत समस्या देखिएको छ। नदीको पानी पिउन लायक नभएपछि पिउने पानीको समस्या देखिएको हो।

‘स्थानीयवासी बिहानैदेखि काममा आउनुहुन्छ। भोकै, प्यासै काम गर्नुहुन्छ। खाद्यान्न र पिउने पानीको व्यवस्था भए यतै खाना पकाएर खान हुन्थ्यो’, वडा नं ९ भलमन्साका हेमराज डगौराले भने, ‘अझै काम सम्पन्न गर्न चार/पाँच दिन लाग्छ। त्यति दिनका लागि भ्याउने खाद्यान्न भए काम गर्न सजिलो हुन्थ्यो।’

प्रकाशित: Jul 24, 2023| 19:39 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्