काठमाडौं– परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण काम अनलाइनमार्फत गर्न निर्देशन दिएका छन्। मन्त्री साउदले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत हुने भए पनि काउन्सलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ।
सोही कारण राहदानी विभागमा सेवाग्राहीको भीड लाग्ने गरेको छ। राहदानी विभागमा देखिँदै आएको भीडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले यस्तो निर्देशन दिएका हुन्।
सरकारले कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न २० वैशाख २०७० को निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो। विदेशमा रहेका नेपालीको हकहित सुरक्षा, उद्धार, क्षतिपूर्ति पहल, कन्सुलर प्रमाणीकरण, विदेशी नियोग तथा कूटनीतिक पदाधिकारीलाई प्रदान गरिने सुविधा तथा उन्मुक्ति, सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीका लागि सम्बन्धित देशको प्रवेशाज्ञाका लागि सिफारिसलगायत काम विभागबाट हुँदै आएका छन्।
विभागका महानिर्देशक पौडेलले अनलाइनमार्फत काम अघि बढाउन टिप्पणी उठाउने काम भइसकेको र मन्त्रीबाट स्वीकृत गराएर दुई साताभित्रै लागू गरिने बताए।
उनले भने, ‘पीसीसीका काम अनलाइनमार्फत हुँदै आएका थिए। अन्तिममा मात्रै हामीले बोलाएपछि सेवाग्राही आउनुपर्ने हुन्थ्यो। अब त्यो हट्छ। अब थोरै काम गर्नुपर्नेछ। टिप्पणी उठाउने काम भइसकेकाले मन्त्रीज्यूबाट स्वीकृत गराएर १०–१५ दिनमा टुंग्याउँछौं।’