काठमाडौं– बैतडीको पुर्चौडी नगरपालिका–२ भैरु टोलमा घरमाथिबाट आएको पहिरोले पुरिएपछि आमाछोराको मृत्यु भएको छ भने ३ घाइते भएका छन्। मृत्यु हुनेमा भैरु टोलकी २४ वर्षीया अञ्जु जागरी र चार वर्षीय रिजन जागरी रहेको बैतडी प्रहरीले बताएको हो।
आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले पुरिँदा भित्र सुतिरहेका आमाछोराको मृत्यु भएको हो। पहिरोमा पुरिएर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले पुष्टि गरे।
घाइतेलाई राती ३ बजे नै उद्धार गरिएको पुर्चौडी–२ का वडाध्यक्ष चक्रबहादुर बमले जानकारी दिए। पहिरोमा परी दुई गाई, दुई भैँसी, दुई गोरु र एउटा बाख्रा पनि मरेका छन्।