मंगलबार, साउन १९, २०८३

दार्चुलामा 'लम्पी स्किन'बाट ११ सय पशुचौपाया मरे

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

खलङ्गा- ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन्।

लम्पी स्किनको सङ्क्रमण ३३ हजार तीन सय ३० पशुचौपायामा पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले जानकारी दिए।

उनका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा एक सय ४३ बाच्छाबाच्छी, तीन सय ७८ गाई, छ सय २२ गोरु र २६ भैँसी मरेका छन्। त्यस्तै चार हजार नौ सय ५१ बाच्छाबाच्छी, १४ हजार दुई सय ९५ गाई, १३ हजार सात सय पाँच गोरु र तीन सय ६९ भैँसी सङ्क्रमित भएका छन्।

लम्पी स्किन विशेषगरी गोरु साना बाच्छाबाच्छी, गाई र भैँसीमा बढी देखापरेको छ। यो रोगबाट धमाधम पशुचौपाया मर्न थालेपछि दार्चुलाका किसान चिन्तित बनेका छन्। 

“रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएका छैनन्, गाउँमा अहिलेसम्म कुनै पनि पशु प्राविधिक आएका छैनन्”, दुई दिनअघि एक हल गोरु र एउटा लैनो भैँसी मरेको भन्दै शैल्यशिखर नगरपालिका–६ का किसान राम धामीले गुनासो गरे।

भेटेरिनरी अस्पताल दार्चुलाका पशु विकास अधिकृत दिगम्बर जोशीका अनुसार झिँगा, भुसुना, लामखुट्टे र विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु वस्तुलाई कमजोर बनाउने लक्षण देखा पर्छन्।

 यो रोगको खोप भर्खरै नेपालमा आइपुगेको भए पनि सुदूरपश्चिममा पुग्न केही समय लाग्ने जोशीले बताएका छन्। जैविक सुरक्षामा ध्यान दिएन भने यसले झन विकराल समस्या देखिन सक्ने उनको भनाइ छ।

यो रोगको सङ्क्रमण फैलिन नदिन गोठवरपर सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने पशु विज्ञहरूको भनाइ छ।

प्रकाशित: Jul 23, 2023| 20:20 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्