मंगलबार, असार ४, २०८१

हराउन लागेको देश माल्दिभ्स जाँदा 

जलवायु परिवर्तनका कारण समुद्री सतह द्रुत गतिमा बढिरहेको हुनाले केही वर्षमै यो देश विलिन भएर जान्छ भन्ने अनुमान छ।
 |  आइतबार, साउन ७, २०८०

डा. चन्द्र गिरी

डा. चन्द्र गिरी

आइतबार, साउन ७, २०८०

'म हराएँ भने माल्दिभ्समा खोज्न आउनु' भनेका रहेछन् एकजनाले ठट्टैठट्टामा। त्यसैगरी माल्दिभ्स गइसकेका साथीभाइले 'जिन्दगीमा एकचोटी जानैपर्ने ठाउँ हो' भनेको सम्झन्छु। मोरक्कन यात्री एवं ‘रिहाला'का लेखक इबन बतुराले 'माल्दिभ्स संसारको आश्चर्यमध्येको एक हो' भनेका थिए। अरु धेरैले मेरो ‘बकेट लिस्ट' मा छ माल्दिभ्स भनेको सुनेको थिएँ।  

triton college

काठमाडौंस्थित एउटा ट्राभल एजेन्सीमार्फत हवाई टिकट, ट्रान्सफर र होटलको व्यवस्था भयो। काठमाडौंबाट माल्दिभ्स जान घुमाउरो र लामो बाटो रहेछ। दक्षिण भारत, कतार, यूएई वा श्रीलंका आदि  हुँदै जानुपर्ने। हामी दम्पती भने यूएईको दुबई हुँदै त्यहाँ जाने तयारीमा थियौं। 

काठमाडौंदेखि दुबई साढे चार घण्टा र दुबईबाट मालेस्थित ‘भेलना अन्तर्राष्ट्रिय विमानस्थल' पुग्न अरु चार घण्टा लाग्ने रहेछ। मलाई त्यसै पनि ‘रेड आइ फ्लाइट' मन पर्दैन तर के गर्नु अर्को उपाय नभएपछि। ट्याक्सी चढेर एयरपोर्टको लागि रवाना भएँ। 

कुँवर थरका ४४ वर्षे ट्याक्सी चालकले लामो टुप्पी पालेका रहेछन्। ‘भाइ तपाईंको टुप्पीलाई छोटो भन्न मिल्छ र?' मैले जिस्क्याउँदै सोधें। 'देश चुर्लुम्म डुबिसक्यो। बाँकी त्यही टुप्पी त छ,’ उनले पनि गजबको जवाफ फर्काए। हिन्दू राष्ट्र र राजसंस्था गयो भनेर उनी निकै चिन्तित रहेछन्। देशको वर्तमान स्थितिबारे असन्तुष्ट पनि सुनिए। 'दोलखाको सरकारी स्कुलबाट ७९ प्रतिशत ल्याए पनि अंग्रेजीमा चिप्लिएँ। अनि कलेजको अनुहार देख्नै पाइनँ,' उनले थपे। कुँवरहरुको इतिवृतान्त बडो रोचक ढंगले सुनाए। बलभद्र कुँवरका खलक रहेछन्। उनको कथा सुन्न मन हुँदाहुँदै एयरपोर्ट आइसकेछ।  

विदेश जाने र जानेलाई बिदा गर्न आएका आफन्त र साथीभाइको भीड छिचोल्दै टर्मिनलभित्र जानुपर्ने थियो। कसैकसैको बिदाइ गर्न त पूरै गाउँ उल्टिएजस्तो भान हुन्थ्यो। 

corrent noodles
Metro Mart

टर्मिनल भित्र गएर सोच्न थालेँ।  आहा, म त विश्वको सबैभन्दा अग्लो देश (८,८४८.८६ मिटर) बाट संसारको सबैभन्दा कम उचाइ भएको देश (१.८ मिटर) मा जाँदै छु। झन्डै १२ सय टापुको देश माल्दिभ्स जनसंख्या र क्षेत्रफल दुवैको आधारमा एसियाको सबैभन्दा सानो देश हो। मालाजस्तो देखिने टापुहरु भएकोले 'माला र द्विप' संस्कृत शब्दहरु मिलेर माल्दिभ्स नामकरण गरिएको रहेछ। जलवायु परिवर्तनका कारण समुद्री सतह बढिरहेको हुनाले केही वर्षमा नै यो देश संसारको मानचित्रबाट हराएर जान्छ भन्ने अनुमान गरिएको छ।   

maldives1690099900.jpg

मे ७ को बेलुका ७:५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको प्लेन समयमै उड्यो। आधाजस्तो यात्रुहरु नेपाली थिए। कोही दुबई जाने त कोही ट्रान्जिट हुँदै अमेरिका वा क्यानडा जाने। यूएईका एनआरएन प्रेसिडेन्ट ठाकुर ढुंगानासँग भलाकुसारी भयो। रातभरि कहिले सुत्दै, कहिले खाना खाँदै, कहिले प्लेनभित्र टहलिँदै बित्यो। 

माल्दिभ्स कहिले पुगिएला र रमाइलो गर्न पाइएला भन्ने सोचिरहें बेलाबेलामा। जिन्दगीमा धेरै कुराहरुमा बाटो लामो, कष्टकर र झ्याउलाग्दो भए पनि गन्तव्यमा पुगेर वा लक्ष्य हासिल गरेर रमाउने गरेको छु। माल्दिभ्सको घाम, बालुवा, आकाश, समुद्र, इतिहास, संस्कृति, रहनसहन र खानापिना आदिमा रमाउने चाहना मनमा गढेको हुनाले बाटोका स-साना झ्याउलाग्दा कुराहरुको के माने भयो र? यात्रा पनि गन्तव्यजत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरा बुझेको छु।  

स्थानीय समयअनुसार मे ७ रातिको ११:५५ मा दुबई उत्रियौं। उता नेपालमा यो बेला मे ८ को बिहान १:४० भइसकेको थियो। पूरै एक दिन फाइदा भएजस्तो लाग्यो। घडीको सुई १ घण्टा ४५ मिनट अगाडि सारें। यसरी नै जिन्दगीको समय पनि अघि सार्न पाए के हुन्थ्यो होला? नेपाल यूएईभन्दा १ घण्टा ४५ मिनेटले अघि भएकोले योपालि फाइदा भयो तर फर्केर जाँदा हिसाबकिताब मिलिहाल्छ। समयले हिसाब गर्न जानेको छ।  

छोरीको निम्तोमा 'व्हिलचेयर' बुक गरेर क्यानाडा जान लागेका बुटवलका शर्मा जोडीलाई त्यस्तो कुनै व्यवस्था भएन। अंग्रेजी पढ्न नजान्ने वा गेट पत्ता लगाउन नसक्नेहरुलाई सित्तैमा पाइने 'व्हिलचेयर' को व्यवस्था गर्ने चलन छ। 'व्हिलचेयर' कहाँ पाइन्छ भनेर सोद्धा 'बस चढेर जानुहोस्, टर्मिनलमा मिल्छ' भने एक कर्मचारीले। प्लेनबाट उत्रेर दुइटा बस चढेर एकपछि अर्को टर्मिनल जानु थियो। सुरक्षा जाँच गर्नु थियो। टर्मिनलमा पुग्दा पनि व्हिलचेयरको अत्तोपत्तो भएन। हामीले उहाँहरुलाई क्यानाडा जाने गेटसम्म लगेर छोडिदियौं र हामी हाम्रो गेटतिर लाग्यौं। 

प्रस्थान गर्ने प्रतीक्षालयमा आधाजस्तो यात्रुहरु हनिमुन मनाउन हिँडेका जस्ता देखिन्थे। उनीहरु त्यस्तै २५-३५ वर्षका होलान्। एक युरोपेली जोडी ‘च्वाक्क च्वाक्क’ आवाज आउने गरी चुम्मा खाइरहेका थिए। अरब देश र भारतका जस्ता देखिने जोडीहरु भने दूरी कायम गरेर बसेका थिए। हामीजस्तो ३४ वर्षे (विवाह भएको ३४ वर्ष भएका) हरुको नामोनिशान देखिएन। 

बिहान १:५५ मा निर्धारित समयमै फ्लाई दुबईकै प्लेन मालेतर्फ लाग्यो र बिहान ७:२५ मा ल्याण्ड गर्यो। आँखा मिच्दै प्लेनबाट बाहिर निस्किएँ। अलिअलि थाकेको महसुस पनि भइरहेको थियो। अनअराइभल भिसाको छाप लगाएर र सामान लिएर बाहिर निस्कन धेरै समय लागेन। 

हामीले बुक गरेको होटलका स्टाफ पर्खिरहेका रहेछन्। यसरी कोही सहयोग गर्ने वा साथीभाइ लिन आउँदा सहज हुन्छ। तैपनि म धेरैजसो यात्रामा आफैं ‘एक्सप्लोर' गर्न चाहन्छु र कसैलाई खबर गर्दिनँ। बाहिर निस्कनासाथ ‘मेधाफुसी' रिजोर्टको लाउन्जमा लगेर चिसो पानी दिए। बहकिएरै होला, छोरी मेधावीको नामसँग जोडिएको यो रिजोर्ट रिजर्ब गरेका थियौं। पछि थाहा भयो त्यो रिजोर्ट त एअरपोर्ट बाट १३० किलोमिटर टाढा रहेछ। तुरुन्तै हामी त्यहाँबाट एउटा माइक्रोबस चढेर एयरपोर्ट नजिकैको भर्खरै बनेको सी-पोर्ट गयौं। तुरुन्तै हामी त्यहाँबाट एउटा माइक्रोबस चढेर एयरपोर्ट नजिकैको भर्खरै बनेको सी-पोर्ट गयौं।जाँदा सी-प्लेनमा र फर्कंदा स्पिडबोटमा आउने प्रबन्ध थियो ताकि दुवै वाहनको अनुभव भरपूर हुन सकोस्। 

न्यानो मौसम, स्वच्छ हावा, पारिलो घाम र मन्द गतिको समुद्री हावाले स्वागत गर्न माल्दिभ्स हामीलाई पर्खिरहेको रहेछ। हामीलाई दिएको सी-प्लेन उड्ने समय अनुमानित मात्र रहेछ, छिटो पनि उड्न सक्ने ढिलो पनि। समय सुस्त गतिमा चल्दो रहेछ यहाँ। कोही हतारमा छैन, कसैको केही बित्दो छैन। हस्याङफस्याङमा छैन कोही। सरकारी अफिस ८ बजे खुलेर २ बजे बन्द हुँदा रहेछन् त्यो पनि आइतबारदेखि बिहीबारसम्म मात्र। 

लाउन्जमा पर्खनको लागि राम्रो व्यवस्था रहेछ। एउटा क्यापुचिनो पिएर रातभरिको उडानको थकाइ मार्न कोशिस गरेँ। प्लेन उड्ने समय हुनै आँटेछ। एउटा कोठामा गएर सुरक्षा व्यवस्थाको बारेमा भिडियो हेरें। एक सुन्दर महिलाले हँसिलो मुद्रामा बोर्डिङ पास स्क्यान गरिन् अनि उनीजत्तिकै सुन्दर र हँसिली अर्कीले प्लेनको ढोकासम्म पुर्याइदिइन्। प्लेन पानीबाट उडेर पानीमा नै अवतरण गर्दै थियो। कति सजिलो ! खर्चिलो एयरपोर्ट बनाउनै परेन। यस्तै प्लेन क्यानाडा र स्क्यान्डिनेभियन देशहरुमा देखेको थिएँ तर चढ्ने मौका भने मिलेको थिएन। 

पानीमा तैरिरहेको र ढिकीच्याउँ ढिकीच्याउँ गर्दै गरेको प्लेनमा बसें। बस्ने ठाउँ खचाखच थियो र होचो पनि। तेजस्वीले लुक्ला उडेको याद आयो भनिन्। हाफ प्यान्ट र चप्पल लगाएका पाइलेट दोश्रोपल्ट देखें मैले। यसअघि अफ्रिकन सफारी जाँदा देखेको थिएँ। सानो प्रोपेलर प्लेन उडाउन तयार रहेछन् उनीहरु। 

बिहानको ठिक ९:३० बजे संसारकै सबैभन्दा ठूलो सी-प्लेन कम्पनी ट्रान्स माल्दिभियन चढेर रिजोर्टतिर लाग्यौं। करिब ३५ मिनेटको उडान थियो एयरपोर्टबाट १३० किलोमिटर टाढा तर एक घण्टा १५ मिनेट लाग्यो। किनकी दुई ठाउँमा रोक्दै उड्नु परेकोले। ठाउँ-ठाउँमा यात्रुहरु छोड्दै-उठाउँदै गयो हाम्रो प्लेनले। 

आकाशमा हुँदा माले र वरपरका क्षेत्रहरूको सुन्दर दृश्य आँखा नझिम्क्याइ हेरिरहें। 'क्रुजिङ उचाइ' मा पुगिसकेपछि साना साना टापुहरु र त्यहाँ बनेका रिजोर्ट प्रशस्तै देखिए। नरिवललगायत रुखहरुले भरिएका टापुहरुबीच खेतीपाती गरेको पनि देखियो। कहिँकहिँ साना र सेतो बालुवाले ढाकेका टापुहरु चम्किरहेका थिए, लाग्दथ्यो मोती चम्कीरहेको छ हिन्द महासागरको बीचबीचमा। साना-ठूला गरेर करिब २-३०० टापु देखें होला। धेरै टापुहरूमा बसोबास छैन। १३० किलोमिटरको दूरी भएकोले माल्दिभ्सको धेरै भूभाग हेर्ने अवसर मिल्यो।
 Untitled6891690099900.jpg

समुद्रको पानी पनि विभिन्न रंगले सजिएको थियो। रङ, समुद्रको पानी गहिरो छ कि सतही, संग्लो छ कि धमिलो, पानीमुनि बालुवा छ कि ‘समुद्री झार’ आदि कुरामा भर पर्दो रहेछ। घाँटी दुख्ने गरी प्लेनको झ्यालबाट हेरिरहें। बादलले तलको सुन्दर दृश्य बेलाबेलामा सेतो रंगले लपक्कै बनाइदिन्थ्यो। कहिले बादल जाला र हेरुँला भनेर म पर्खिरहन्थें। त्यसरी बेला-बेलामा बादलुले छोपेर माल्दिभ्सले आफ्नो महत्व झनै  बढाएजस्तो लाग्यो।  

बेला बेलामा प्लेन हल्लिन्थ्यो। अलि अलि डर पनि लाग्यो। प्लेन बेस्सरी हल्लिँदा मेरी  श्रीमतीले मेरो हात दरोसँग पक्डिन्थिन् भने अगाडि बसेकी एक युरोपेली महिला भने आफ्ना श्रीमानलाई चुम्मा खान्थिन्। तरिका आ-आफ्नै भन्ठानेँ।  

प्लेन होटलको आफ्नै ‘डकिङ पिअर' मा गएर रोकियो। जीवनको एउटा अविस्मरणीय अनुभव थियो यो। संसारमा यस्तो सुन्दर दृश्य अन्त कतै देखिँदैन होला। यो अद्धितिय दृश्यले मन आनन्दित भयो। 

Untitled-1453451690099899.jpg

प्लेनबाट उत्रनासाथ क्याप्टेन अहमदसँग प्लेनको बारेमा भलाकुसारी गरेँ।  त्यहाँ होटलकी एक स्टाफ पर्खिरहेकी रहिछन्। होटल चेकइन सहज थियो। वेलकम ड्रिंकको आनन्द लिन थालें म। प्लेन चढ्नुअगावै बुझाएको सामान एकैचोटी होटलको आफ्नो कोठामा आइपुग्ने रहेछ। 

Untitled-1-65671690099899.jpg

माल्दिभ्स टेकेदेखि नै सेवासुविधामा कुनै कमी थिएन। ठगीको नामोनिशान थिएन। यस्ता कुराहरुले पनि धेरै पर्यटक माल्दिभ्सप्रति आकर्षित हुने रहेछन्। त्यसै संसारको एउटा सुरक्षित पर्यटनस्थल भनेर चिनिएको कहाँ हो रहेछ र?   

यो निजी टापुमा हाम्रोमात्र होटल छ। ‘वाटर भिल्ला' मा भएको हाम्रो कोठा समुद्रमा तैरिरहेको झैं  लाग्छ। भुइँदेखि छानासम्मका ठूल्ठूला सिसाका झ्याल भएका कोठाबाट सूर्योदय हेर्न सकिने रहेछ। पर-परसम्म समुद्र देख्न सकिन्छ। मनमोहक दृश्य, सन डेकमात्र कहाँ हो र? स्नोर्किङ गर्न वा समुद्रमा डुबुल्की मार्न कोठाबाटै सानो तर चिप्लो भर्याङ छ। 

दुइटा होटलकै रेस्टुरेन्ट र बारमा स्थानीय र अन्तर्राष्ट्रिय स्वादहरूको आनन्द लिन सकिने रहेछ। खाना मेरो लागि प्यारो छ। जुनसुकै खाना पनि मन पर्छ। हरेक साँझ एक गिलास रेड वाइन पिउन मन लाग्छ।   

घुम्दाघुम्दै सूर्यास्त हेर्ने बेला भइसकेछ। सबैजना बाहिर निस्किए। कोही कोठाबाटै हेरिरहेका छन्। हामीले भने कोठा नजिकैको समुद्री तटमा गएर भरपूर आनन्द लियौं। 

Untitled-1565671690099899.jpg

सुत्ने बेला भयो। कोठाभित्रको विलासी ओछ्यानमा नसुतेर बाहिर बरन्डामा सुतें। सानोमा झापामा घरको बरन्डामा सुतेको सम्झना भयो। 

बिहान ४-५ बजे नै उठ्ने बानी छ। समुद्रको पानीको छालको आवाज बाहेक शान्त वातावरण छ। काठमाडौंमा बिहान उठ्दा कुखुरा बासेको, कुकुर भुकेको, शंख बजेको, पल्लो घरकी हजुरआमाले घन्टी बजाएर पूजा गरेको र उज्यालो हुँदै गएपछि गाडीको ट्याँट्याँ र टुँटुँ सुनेको याद आयो।  

बिहानको ६ पनि बजिसकेछ। सूर्योदय हेर्न कहिँ जानु परेन, आफ्नै ओछ्यानबाट हेरें।  

हरेक दिन बिहान एक कप कफी पिएर समुद्री तटमा हिँड्न निस्कन्थें। लटरम्मै फलेका नरिवलका बोटहरु र फूलहरु जहीँतहीँ छन्। उष्णकटीबन्धीय जलवायु भएकोले यहाँ बाह्रै महिना न्यानो छ। भूमध्य रेखाबाट ३ डिग्री उत्तरमा छौं हामी यो बेला। सूर्यको किरण ९० डिग्रीको कोणमा आइरहेको छ। 

नरिवलका बोटहरु हावाहुरी जितेर बांगोटिंगो आकार भए पनि आनन्दले मन्द हावाको गतिले कम्मर हल्लाईहल्लाई नाचिरहेझैं लाग्छन्। कुनैकुनै हनिमुन वा वर्षगाँठ मनाउन आएका जोडीहरुले आफ्नो नाम काठमा कुँदेर रुखमा झुन्ड्याएका रहेछन्। त्यसको लागि पैसा तिर्नुपर्ने सुनाए त्यहाँका कामदार ‘सत्या' ले। उनी इन्डोनेसियाको बालीबाट काम गर्न आएका रहेछन्। 

मर्निङ वाकपछि कोठाबाट भर्याङ झरेर पौडी खेल्न गएँ। पानी न तातो न चिसो, ठिक्कको थियो। पौडी खेल्नुको अलावा लो टाइड भएको हुनाले समुन्द्रमा परसम्म हिँडे। समुन्द्र मुनि भएका ढुंगाले खुट्टा रगताम्य भएछन्। भोक लागिसकेको थियो। बिहानको खाजा स्वादिष्ट थियो तर चिया वा कफीले भने धीत मरेन। 

आज दोस्रो दिन। पूरै दिन रिजोर्टमै बिताउने योजना थियो। बेला-बेलामा वाटर भिल्लाबाट पर-परसम्म हेरेर अपार आनन्द लिइरहें। पृथ्वीको डल्ले ग्लोबमा त के कुरा गुगल म्यापमा पनि जुम नगरी नदेखिने लुकेर बसेको यो देशमा यति धेरै आनन्द लुकेको रहेछ। माथि स्वच्छ आकाश, तल निलो पानी र सेतो बालुवा, मनमा शान्ति। अरु के चाहियो?

बेलुका एक दम्पतीले बच्चा शार्कलाई माछा खुवाउन लागेका रहेछन्। माथिबाट माछाको टुक्रा फालिदिने अनि तल समुद्रमा शार्कहरु तँछाडमछाड गरेर खाँदा रहेछन्। छिटो खान सक्नेले खान पाउने रहेछ, कोसिस भने सबैले गर्दा रहेछन्। एकै छिनमा हेर्ने मान्छेहरुको भीड लाग्यो। अघाएका शार्कहरु खान आउन छोडेपछि भीडभाड कम भयो। सबैले खान पाएजस्तो लाग्यो। मान्छेले जस्तो सञ्चित गरेर राख्ने अवसर नभएपछि सबैले खान पाउने देखेर खुसी पनि लाग्यो।      

डिनर सकिएपछि डिजे नाइट रहेछ, समुन्द्रको छेउमा रहेको बारमा। माल्दिभियन, अंग्रेजी र हिन्दी गीतहरु बजे। माल्दिभियन संगीतमा अफ्रिकन र हिन्दी गीतहरुको प्रभाव परेको रहेछ। 

तेश्रो दिन पनि भइसक्यो।  यो दिन डल्फिन हेर्ने ठूलो ठूलो इच्छा थियो, त्यो पनि उनीहरुको आफ्नै असली बासस्थानमा। बिहान र दिउँसो टुर हुँदो रहेछ, किनकी यो बेला डल्फिनहरु सबैभन्दा सक्रिय हुँदा रहेछन्। मैले दिउँसोको चयन गरें। धोनी भनेर चिनिने माल्दिभ्सको आफ्नै खाले डुंगामा चढेर डल्फिन जम्मा हुने ठाउँतिर लाग्यौं। गाइडलाई कहाँ जम्मा हुन्छन् भन्ने कुराको पूर्ण जानकारी हुने रहेछ र उनीहरुले देख्नासाथ डुंगा रोकेर हेर्ने अवसर दिने रहेछन्।  

यहाँ विभिन्न प्रजातिका डल्फिनहरु हेर्न पाइने रहेछ। जस्तै- स्पिनर, बोटलनोज, रिस्सो आदि। पानीमाथि उफ्री-उफ्री रमाइरहेका हुँदा रहेछन्। डल्फिनको आवाज पनि सुन्न पायौं हामीले। डल्फिनहरू सामान्यतया मानिसप्रति मैत्रीपूर्ण हुने गर्छन्। तैपनि टुर अपरेटर र गाइडद्वारा निर्देशित नियमहरु पालना गर्न महत्त्वपूर्ण थियो।

पर्यटन मुख्य आम्दानीको श्रोत रहेछ माल्दिभ्सको। सन् १९७० मा पहिलो रिजोर्ट बनेयता अहिलेसम्म १०० वटा जति रहेछन्। प्रतिव्यक्ति आम्दानी सार्क देशहरुमा सबैभन्दा बढी छ। एउटाबाट अर्को टापु जान फेरी चल्ने ठाउँमा फेरी सस्तो हुने रहेछ। नत्र महँगा स्पिड बोट वा सी-प्लेन लिनुपर्ने। 

अन्तिम दिन हाम्रो उडान राति ११ बजे भएकोले दिउँसोको खानाका लागि समुद्रमुनिको रेस्टुरेन्टमा जाने योजना बन्यो। इथा नाम गरेको त्यो रेस्टुरेन्ट औधी महँगो। समुद्र सतहबाट पाँच मिटर तल बनेको विश्वको पहिलो समुद्रमुनिको रेस्टुरेन्टमा मनोरम कोरल रिफ हेर्दै, मदिराहरूसँग मिल्दो फ्युजन मेनुहरूको साथ भोजन गर्न पाउनु अहोभाग्य ठानें। समुद्र मुनि होटल पनि रहेछ तर त्यहाँ बस्न भने कुबेर नै हुनुपर्ने रहेछ।

लन्च खाएर एयरपोर्ट जानुअघि माले पैदलै घुम्न थालें। यो टापु ठुलो छैन। हिँडेरै ४५ मिनेटमा एक छेउबाट अर्को छेउ पुग्न सकिन्छ। सहरको मुटुमा रहेको रिपब्लिक स्क्वायरबाट हाम्रो भ्रमण सुरु भयो। यो स्क्वायर एक महत्वपूर्ण स्थलचिह्न हो र स्थानीयका लागि एक लोकप्रिय जमघट स्थान पनि। चारैतर्फ माल्दिभ्सको राष्ट्रिय झण्डासहितको अग्ला फ्ल्यागपोलहरुले सुन्दरता थपेको थियो। नरिवलका रूखहरू र ‘वाटर फाउन्टेन' ले घेरिएको छ यो ठाउँ। केहीबेर त्यहाँ टहलिएर अब म माल्दिभ्सको सबैभन्दा ठूलो मस्जिदमध्ये एक भनेर चिनिने ग्रान्ड फ्राइडे मस्जिदमा पुगें। सिंगमरमरले बनेको मस्जिदमा सुनौलो रंगको डोम रहेछ।

maldives tapu1690099899.jpg

अब म माले माछा बजारतिर लागें। यहाँ मैले भर्खरै समातिएका ताजा माछाहरूको रंगीन प्रदर्शन देखें। ट्युना, ग्रुपर र स्न्यापरसहित अन्यथरिका माछा थिए त्यहाँ। स्थानीय फलफूल, तरकारी र मसला बेच्ने पसलहरु पनि रहेछन्।

त्यसपछि म पुरानो सहरको साँघुरो गल्लीहरूमा हिँड्न थालें, जहाँ मैले कोरल ढुंगा र खरको छानाले बनेका परम्परागत माल्दिभियन घरहरू देखें। धेरै वटा स्मारिका पसलहरू र स्थानीय क्याफेहरू पनि रहेछन्। भोक लागिसकेको हुनाले स्वादिष्ट माल्दिभियन व्यन्जनहरूतिर मेरो ध्यान गयो ।

पहिले हिन्दू, त्यसपछि बुद्धिष्ट र अहिले मुस्लिम राज्य भएको हुनाले यी तीनवटै धर्मको प्रभाव यहाँका घर, भाषा-संकृति र जनजीवनमा देखिँदो रहेछ। हाल यहाँको नागरिक हुन् मुस्लिम नै हुनुपर्ने रहेछ।   

बाटोको दुवै किनारमा भएका जिवन्त र चम्किला घरहरुका कारण रंगीन सहर पनि भनिने रहेछ मालेलाई। मालेमा बनेका भवनहरूलाई गुलाबी, हरियो, नीलो, पहेंलो र सुन्तला रंगहरूमा रंगाइएको थियो, जसले जिवन्त र हर्षित वातावरण सिर्जना गर्यो मेरो मनमा। सडकहरू पनि जीवन्त भित्ते चित्र र कलाले भरिएका थिए। त्यसले रंगीन वातावरणमा थप योगदान गर्ने नै भयो। यी अनगिन्ती भित्ते चित्रहरूले माल्दिभ्सको संस्कृति र इतिहास भनिरहेका थिए।

दिन ढल्नै लागेको हुनाले अन्तिम स्टप कृत्रिम अर्थात् मानव निर्मित समुद्र तटतिर लागें। स्थानीय र पर्यटकहरुको घुइँचो रहेछ। मालेको पैदल यात्रा गरेर राजधानीको जानकारी र यसको अद्वितीय संस्कृति अनि इतिहासको अनुभव प्राप्त भयो। 

दु:खको कुरा ! अब यो टापु देश छोड्ने बेला भइसकेछ, एयरपोर्टतिर लागें।

आएकै बाटो फर्किनु थियो। दुबईबाट काठमाडौंको अन्तिम उडानमा थिएँ। मनमनै सोच्दै थिएँ- जिन्दगीमा फेरि माल्दिभ्स गइन्छ कि गइन्न होला? एकातिर उमेर ढल्दै गएपछि यस्तो सोचाइ आउँदोरहेछ भने अर्कोतिर जलवायु परिवर्तनका कारण समुद्री सतह द्रुत गतिमा बढिरहेको हुनाले केही वर्षमै यो देश विलिन भएर जान्छ भन्ने अनुमान छ।

हाम्रो प्लेनले त्रिभुवन विमानस्थलमा ‘टच डाउन’ गरिसकेछ। यो यात्रा अनुभव म कहिल्यै भुल्नेछैन भनेर आफैंसँग बाचा गर्दै घरतिर लागें।  

(गिरी अमेरिकी सरकारका उच्च अधिकृत र ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन्।) 

प्रकाशित: Jul 23, 2023| 16:16 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्