काठमाडौं- सपनाको न त कुनै उमेर हुन्छ न उमेरले शिक्षालाई छेक्छ। साक्षर मात्रै हुन पाउनु पनि कसैको लागि यस्तो सपना भइदिन्छ जसले उसलाई निदाउन दिँदैन। यसको ज्वलन्त उदाहरण हुन् रोल्पाकी कुमारी महरा।
द्वन्द्वको बाछिटाले एक समय थुप्रै बालबालिकाको पढ्ने अधिकार खोसेको कुरा नकार्न सकिन्न। कतै गरिबी र जनचेतनाको अभावले त कतै १० वर्षे सशस्त्र द्वन्द्वका बाछिटाले देशका थुप्रै नागरिक औपचारिक शिक्षाबाट वञ्चित रहे। यसमा महिलाको संख्या बढी छ। द्वन्द्वमा होमिनुपर्ने त्रास र मारिने डरले थुप्रै अभिभावकले आफ्ना बालबालिकासहित गाउँ छाडे।
रोल्पाकी कुमारी एक प्रतिनिधि पात्र हुन्। उनले पढ्दापढ्दै बीचमै विद्यालय छाडेर हिँड्नुपरेको थियो। सशस्त्र द्वन्द्व टुंगिँदा उनको उमेर विद्यालयमा पढिरहेका बालबालिकाको भन्दा निकै बढी भइसकेको थियो। आफूभन्दा निकै साना बालबालिकासँग पढ्न उनलाई संकोच लाग्यो।
एक दिन उनले ललितपुरको सातदोबाटोस्थित प्रेरणा महिला विद्यालयबारे सुनिन्। त्यहाँ आफूसरह वा बढी उमेरका महिलाले पनि पढिरहेको थाहा पाएपछि उनी भर्ना भइन् र एसएलसी प्रथम श्रेणीमा पास गरिन्। पद्मकन्या क्याम्पसबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी उनी अहिले मानव अधिकार आयोगमा अधिकृत पदमा जागिरे छिन्।
‘कुमारी जेहेन्दार थिइन् र निकै मेहनत पनि गर्थिन्,’ प्रेरणा विद्यालयकी प्रधानाध्यापक प्रभा चालिसेले सुनाइन्, ‘उनको सफलता सुन्दा गौरव बोध हुन्छ।’ प्रअ चालिसेका अनुसार प्रेरणामा २०६१ पछि द्वन्द्वबाट बिस्थापित भएर पढाइ छुटेका युवती र महिला ठूलै संख्यामा पढ्न आएका थिए। ‘२७ जना महिलाबाट विद्यालय चलाउन थालेका थियौं। ०६१ सालसम्ममा ८ सयसम्म विद्यार्थी भर्ना हुन आउन थाले,’ चालिसेले भनिन्, ‘विद्यार्थीको बाढी आउँदा थेग्नै गाह्रो भएको थियो।’ उनका अनुसार त्यतिबेला आएकामा अधिकांश द्वन्द्वप्रभावित महिला थिए।
जीवनमा केही बन्ने र गर्ने सपना अधुरै रहेका महिलाहरुको सपना साकार पार्न पाएकामा चालिसेले खुसी व्यक्त गरिन्। ‘सशस्त्र द्वन्द्वका कारण पढ्न नपाएका थुप्रै महिलाले अझै मौका पाएका छैनन्,’ उनले भनिन्, ‘उनीहरुलाई पनि शिक्षाको ज्योति छर्न जरुरी छ।’
आस्था महिला विद्यालयमा पनि छोराछोरी हुर्काइसकेर वा हुर्काउँदै पढ्न आउने महिला थुप्रै छन्। विद्यालयले पढ्न नपाएका, बीचमै पढाइ छुटेका र पढ्ने रहर गरेका हरेक उमेरका महिलालाई माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको छ। तारा श्रेष्ठले छोरीलाई नसरीमा भर्ना गरेर आफू भने ५ कक्षाबाट पुनः पढाइ सुरु गरिन्। आस्था महिला विद्यालय गठ्ठाघरबाट एसईई पास गरेकी तारा पढाइलाई निरन्तरता दिँदै घर र पसल धान्दै भर्खरमात्रै स्नातक उतिर्ण गरेकी छन्।
सुन्दरी कार्कीले पहिले १० कक्षासम्म पढेकी थिइन्। जाँच दिने बेला बिरामी परेपछि पढाइ थन्कियो। जाँच दिन नसकेपछि घरकाले बिहे गरिदिए। त्यसपछि त घरव्यवहारमै अल्झेर झण्डै १६ वर्ष बित्यो। ३२ वर्षिया सुन्दरी पुनः कक्षा ९ मा भर्ना भइन्। उनको लक्ष्य एसईई पास गर्नु थियो। ‘एसईई नदिई मरे स्वर्ग पुग्न सकिन्न कि जस्तो लाग्थ्यो,’ ठट्यौली पारामा उनले सुनाइन्।
सुन्दरीले परिवार धान्न सेक्युरिटी गार्डको काम पनि गरिन्। तर कम्तिमा एसईई गर्ने हुटहुटी सधैं मनभित्र रहिरह्यो। त्यही सपनालाई पछ्याउँदै उनी आस्था महिला विद्यालय पुगेकी थिइन्। उक्त विद्यालयमा नै आफ्नो अधुरो सपना पूरा गर्ने बाटो भेटिन्। उनलाई स्वर्ग जाने बाटो नै भेटेको जस्तो खुसी महसुस भयो। आखिर उनले एसईई उतिर्ण गरेरै छाडिन्।
भर्खरका देखि प्रौढसम्मलाई पढाउन आस्थाजस्तै अरु विद्यालय पनि खुलेका छन्। काठमाडौं तीनकुनेस्थित उत्प्रेरणा माविकी प्रधानाध्यापक सुमित्रा मैनालीका अनुसार महिलाहरु एउटा न एउटा इख लिएर पढ्न आएका हुन्छन्। ‘कोही पढाइ छुटेको पीडा बोकेर आउँछन्। कोही छोराछोरीले केही जान्दैन भनेर वचन लगाए भनेर आएका हुन्छ,’ उनले भनिन्। ललितपुरको सातदोबाटोस्थित प्रेरणा माविमा १४ वर्षदेखि ६५ वर्ष उमेरका महिला अध्ययनत छन्।
साक्षर होइन, शिक्षित
गठ्ठाघरस्थित आस्था महिला विद्यालयकी संस्थापक प्रधानाध्यापक पार्वती ज्ञवालीले ‘अधुरो शिक्षा पूरा गरौं, आत्मनिर्भर बनौं’ नारा बोकेर ओझेलमा परेका महिलालाई शिक्षाको मूलधारमा ल्याउने प्रयास थालेका बताइन्। ‘सम्मानजनक जीवन र आत्मनिर्भर बन्न शिक्षा नै मूल हतियार हो,’ उनले भनिन्, 'धेरैलाई यो परियोजनामा आधारित काम मात्रै हो भन्ने लाग्छ। तर यो प्रमाणपत्र मात्रै दिने कुरा मात्र होइन, महिलालाई आत्मनिर्भर बनाउन समेत विद्यालय अग्रसर छ।’ एक–दुई कक्षा मात्रै पढेर गए पनि महिलाले नपढेको र पढेको जीवनमा फरक महसुस गरुन्, प्रस्तुतिमा परिवर्तन आओस् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरेको उनले प्रष्ट्याइन्। ‘यो पेशा भन्दा पनि प्यासन हो। यो पैसा कमाउने खालको काम होइन,’ उनले भनिन्।
महिला साक्षर होइन कि शिक्षित बन्नुपर्छ भन्ने भावनाका साथ अगाडि बढिरहेको उत्प्रेरणा महिला विद्यालय तीनकुनेकी प्रधानाध्यापक सुमित्रा मैनालीले बताइन्। नयाँबजारस्थित नमुना महिला माध्यमिक विद्यालयकी प्रधानाध्यापक धनकुमारी न्यौपानेले महिलाको जीवनलाई सम्मानित बनाउन, अपहेलनाबाट जोगाएर शिक्षाको सानो उज्यालो भए पनि छर्न विद्यालय सञ्चालन गरेको बताइन्।
उत्प्रेरणा माविकी प्रधानाध्यापक मैनालीका अनुसार प्रायः विद्यार्थीलाई गणित, विज्ञान र अंग्रेजीजस्ता विषय पढाउन गाह्रो छ। शिक्षकहरुले ती विषयमा अलि बढी केन्द्रित भएर पढाउने गरेका छन्। उनीहरुले पढाइलाई व्यवहारिक रुपमा बुझाउने कोशिस गर्छन्। ‘उहाँहरुले सधैं प्रयोग गर्ने वस्तुहरुको उदाहरण दिएर सिकाउँछौं,’ उनले भनिन्, ‘सुरुमा बुझाउन सजिलो भए पनि लेखाउन र पास हुनेगरी तयार पार्न ग्राहो छ।’ शिक्षकहरुले धैर्यताका साथ एकदमै व्यवहारिक रुपले सिकाउन सफल हुने गरेको उनले दाबी गरिन्।
आस्था विद्यालयकी प्रअ ज्ञवालीका अनुसार केही जान्दै नजानेकाहरुलाई ‘प्राइमरी कक्षा’ मा राखिएको छ। कक्षा ६ देखि १० कक्षासम्म भने अन्य विद्यालमा पढाइ हुने पाठ्यक्रमकै आधारमा पढाइ हुन्छ। ‘प्राइमरीमा अलिअलि अक्षर चिनेकादेखि पढ्न–लेख्न जान्दै नजानेका र कुनै शैक्षिक प्रमाणपत्र ल्याउन नसकेकाहरुलाई राखेर पढाउँछौं,’ उनले भनिन्। कतिपय विद्यालयले कम्प्युटर शिक्षासमेत चलाएका छन्। नयाँ बजारस्थित नमुना मावि यस्तै एउटा उदाहरण हो जसले विगत तीन वर्षदेखि विद्यार्थीलाई कम्प्युटर शिक्षा दिदैं आएको छ।
आर्थिक समस्याको चाङ
एउटा खास उमेर समूहका महिलालाई पढाउने यस्ता विद्यालयहरु आर्थिक संकटमा छन्। आस्था महिला विद्यालयकी प्रधानाध्यापक पार्वती ज्ञवालीका अनुसार अनुमतिको हिसाबले सरकारी भए पनि पूर्ण सरकारी विद्यालय होइन। सरकारले वार्षिक रुपमा १० लाख राहत उपलब्ध गराए पनि त्यत्ति रकम पनि नियमति नहुने गुनासो उनले पोखिन्।
उनले विद्यालय सञ्चालन खर्च विद्यार्थीबाट उठाएको न्यूनतम शुःल्कबाटै धान्नुपरेको बताइन्। ‘विद्यालयमा लगभग ३ सय जति विद्यार्थी छन्। तीमध्ये शुल्क तिर्न सक्ने आधामात्रै छन्,’ उनले भनिन्। शिक्षकहरु विषयगत छन्। उनले एउटा प्राइमरीका शिक्षकले २५ हजार तलब पाउने तर मावि तहका शिक्षकलाई ८ हजार दिएर राख्नुपरेको सुनाइन्।
प्रेरणा मावि सातदोबाटोकी प्रधानाध्यापक प्रभा चालिसेका अनुसार उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित छ। सरकारले कक्षा १ देखि ५ सम्मको विद्यार्थीका लागि किताब किन्न थोरै बजेट पठाउँछ। अन्य स्रोत विद्यार्थीको शुल्कबाटै पुर्याउनुपर्छ। विद्यालयमा शिक्षक र कर्मचारी गरी २८ जना छन्।
चालिसे भन्छिन्, ‘सरकारले सफलतापूर्वक चलिरहेका यस्ता प्रकृतिको विद्यालयलाई मद्दत गर्नुपर्छ। विद्यालय मर्ज भएका भवन, विद्यार्थी नभएका विद्यालयमा ठाउँ दिएर भए पनि सरकारले महिलालाई पढाउने वातावरण मिलाइदिनुपर्छ।’
ड्रपआउट समस्या
आस्था विद्यालयकी प्रअ ज्ञवालीका अनुसार बीचमा पढाइ छाडेर हराउने दर पनि उत्तिकै छ। उनले अहिलेसम्म १२ सय विद्यार्थी भर्ना भएकामा ९० जनाले मात्रै एसईई दिएको जानकारी दिइन्। ‘धेरै त रहर गरेर आउँछन्। बीचमै हराउँछन्,’ ज्ञवालीले भनिन्।
प्रेरणा मावि सातदोबाटोकी प्रअ चालिसेका अनुसार प्रत्येक सत्रमा ५ सयभन्दा बढी विद्यार्थी भर्ना हुने गरे पनि १ सय हाराहारीले बीचैमा पढाइ छाड्छन्। ‘कतिपय त छाडेर गएको दुई–चार वर्षपछि फर्केर आउँछन्,’ उनले भनिन्।
उनका अनुसार ड्रपआउटको प्रमुख कारण सशुल्क अध्ययन हो। ‘अलि कम उमेरका गर्भवती भएर र पाको उमेरका महिला नातिनातिना स्याहार गर्न भनेर पनि विद्यालय छाड्छन्,’ उनले सुनाइन्।
ड्रपआउटको दर बढी भए पनि यस्ता विद्यालयमा विद्यार्थीको चाप घटेको छैन। २०५५ वैशाखबाट सञ्चालनमा आएको प्रेरणा विद्यालय सातदोबाटोमा ५ सय विद्यार्थी अध्ययनरत छन्। आस्थामा ३ सय विद्यार्थी छन्। अन्य विद्यालयमा पनि विद्यार्थी संख्या उल्लेख्य छ।
सातदोबाटोको प्रेरणा मावि, नयाँ बजारको नमुना मावि र तीनकुनेको उत्प्रेरणा माविले कामकाजी र रोजगारमा रहेका महिलाका लागि बिहानी कक्षा सञ्चालनमा ल्याएको छ भने अन्यले महिलाका लागि दिवा कक्षा चलाएका छन्।
पूर्वविद्यार्थीले खोले विद्यालय
विभिन्न उमेर समूहका महिलाका लागि खुलेका विद्यालय काठमाडौं उपत्यकामा मात्रै ७ वटा सञ्चालनमा छन्। अन्य जिल्लामा पनि यस्ता विद्यालय खुलिरहेका छन्। बुटवलमा २०६२ सालमा खुलेको साधना महिला विद्यालय राम्रैसँग चलिरहेको छ।
राजधानीकै विद्यालयबाट पढेका विद्यार्थीले पनि जिल्लामा महिला विद्यालय खोलेका छन्। प्रेरणा माविको पहिलो ब्याचकी मिरा शाहले चाबहिलमा यस्तै विद्यालय सञ्चालनमा ल्याएकी छन्। एक जनाले तनहुँमा खोलेकी छन्। त्यही विद्यालयबाट ४ वर्षअघि एसईई दिएकी पूर्णमाया आलेमगरले पनि विद्यालय चलाइरहेकी छन्।
समाजमै उदाहरणीय
उत्प्रेरणा मावि तीनकुनेमा पढेकी मीना तामाङले एसईई प्रथम श्रेणीमा पास गरिन्। बानेश्वर क्याम्पसमा समेत टप गरेर उनी सम्मानित भइन्। उनी अहिले आफू पढेकै उत्प्रेरणा विद्यालयमा शिक्षक छिन्। प्रेरणा मावि सातदोबाटोबाट एसईई पास गरेकी मोनिका राई पत्रकारिताबाट विद्यावारिधी गर्ने पहिलो विद्यार्थी भएकी छन्। त्यही विद्यालयकी विष्णु थापा जनसंख्या विषयमा विधावारिधीको तयारीमा छिन्।
आस्था माविमा पढेकी नानीमैया बस्नेत मन्टेश्वरीमा शिक्षक भएकी छन्। सोही विद्यालयकी मालती चौधरी एसईई गरेर १८ महिने भेटनरी कोर्ष गरेर पेसा अंगालेकी छन्। त्यस्तै प्रेरणा मावि सातदोबाटोमा अध्ययन गरेकी मिना दवाडीले एसईईपछि पद्मकन्याबाट स्नातक पढाइ सकेर अमेरिकामा ब्युटिसियन बनेकी छन्। आस्था माविकी सञ्जिता कार्की बी–फर्माको फाइनल परीक्षा दिँदैछिन्। यस्ता उदाहरण थुप्रै छन्, जो शिक्षित मात्रै भएका छैनन् बरु समाजमा राम्रै छाप बनाएर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्।