बुधबार, साउन २०, २०८३

 नेपालले गर्‍यो चीनमा घाँस निर्यात, दैनिक २० कन्टेनर पठाइने  

 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं- नेपालबाट पहिलो पटक पशुआहारको रुपमा (हाइलेज प्रजातिको घाँस)चीन निर्यात सुरु गरेको छ। भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार शनिबारदेखि चीन निर्यात सुरु गरेको हो। 

हाइलेज उत्पादन कम्पनीका अनुसार अब क्रमशः दैनिक २० कन्टेनर पशुआहार चीन पठाइने छ। एक वर्षमा दुई सय करोड टन पशुआहार चीनको सिगात्से सहर पठाउने योजना बताइएको छ। सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन। पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको हो। क्रमशः अम्रिसो, नेपियर लगायतका घाँसबाट समेत पशुआहार बनाइँदै छ। यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशुआहार बनाएको हो।

चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोगसमेत गरिँदै आएको छ। यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ। सुरक्षित भण्डारणमा एक सय २० दिन राखेपछि यो घाँस चीन पठाउने चाङले जानकारी दिए। 

दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ। यसलाई निकै पोषिलो आहारका रुपमा लिने गरिन्छ। कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटै सहितको मकै खरिद गर्दै आएको छ।

पशुआहारलाई रोला बनाएर पठाइएको छ। एउटा रोलामा चार सय ६० किलो पशुआहार हुन्छ। उनका अनुसार दैनिक ८० देखि एक सय रोला पशुआहार उत्पादन गर्न सकिन्छ। हाल तयार गरिएको पशुआहार चितवनका विभिन्न ठाउँबाट सङ्कलन गरिएको हो। धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ। 

सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो। पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ। चाङले चीनको सो क्षेत्रमा दैनिक पाँच सय कन्टेनर घाँसको माग रहेको बताएका छन्। 

प्रकाशित: Jul 15, 2023| 18:50 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्