बुधबार, असार ३, २०८३

सूचनाको हकका लागि समुदाय जागरण अभियान

पछिल्लो समय बढिरहेको भ्रष्टाचार, घुसखोरी र योजना सञ्चालनका क्रममा हुने गरेको मिलेमतो एवं अनियमितता अन्त्य गर्न सूचनाको हक प्रभावकारी साधन हुने सरोकारवालाको धारणा।
 |  शनिबार, असार ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार ३०, २०८०

काठमाडौं– सूचनाको हकका लागि ‘समुदाय जागरण अभियान’ सुरु भएको छ। राष्ट्रिय महासंघ जिल्ला कार्यसमिति काठमाडौं र काठमाडौं उपत्यका प्रदेश समितिको संयुक्त आयोजनामा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रबाट अभियान सुरु भएको हो।

National life

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकबाट सुरु भएको समुदाय जागरण प्रभातफेरी पुरानो अरब बैंक बौद्ध पीपलबोट हुँदै बौद्धनाथ स्तूप परिसरमा आएर समापन भएको थियो। ‘सूचना मागौं, भ्रष्टाचार अन्त्य गरौँ’ मूल नाराका साथ सुरु भएको प्रभातफेरीमा सूचना किन माग्ने?, सूचना कहाँ माग्ने?, कस्ता सूचना माग्ने?, सूचना कसरी माग्ने?, कोसँग माग्ने?, सूचना नदिनेलाई के हुन्छ? लगायत नारा लेखिएका पर्चा वितरण गरिएका थिए। 

कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले पछिल्लो समय बढिरहेको भ्रष्टाचार, घुसखोरी र योजना सञ्चालनका क्रममा हुने गरेको मिलेमतो एवं अनियमितता अन्त्य गर्न सूचनाको हक प्रभावकारी साधन हुने बताए। यसका लागि सचेत नागरिकले सूचनाको हकको अभ्यास गर्नु जरुरी रहेको उनको भनाइ थियो।

महासंघ काठमाडौँ उपत्यका प्रदेश समिति अध्यक्ष ताराबहादुर भण्डारीले महिलालाई राज्यले दिएका आरक्षण एवं सहुलियतका विषयमा सूचना माग गरेर राज्यका निकायलाई जिम्मेवार र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। महासंघ काठमाडौं अध्यक्ष पूर्णप्रसाद मिश्रले जिल्लाका गल्ली–गल्लीमा समुदाय जागरण कार्यक्रम गरिने प्रतिबद्धता जनाए। काठमाडौँमा सुशासनका लागि सूचनाको हक अभियान चलाइने उनको भनाइ थियो। 

महासंघ कोषाध्यक्ष एवं कार्यक्रम संयोजक भीम लामाले कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता जुटेको बताउँदै यस्ता कार्यक्रमले सूचनाको हकको अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। आगामी शनिबार पशुपति क्षेत्रमा ‘समुदाय जागरण कार्यक्रम’ आयोजना गरिने जिल्ला कार्यसमिति काठमाडौंले जनाएको छ।

Shivam cement

गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामाले भ्रष्टाचार एवं अनियमितताको अन्त्यका लागि सूचनाको हक उपयोगी साधन रहेकामा जोड दिइन्। महासंघले महिलालाई पनि सूचनाको हकका क्षेत्रमा अघि बढाइनुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा आचार्य थुप्तेन तामाङ र कर्मा योञ्जनले बौद्धविधिअनुसार मन्त्रोच्चारण गरेका थिए। प्रभातफेरीमा तराना, शुभ बिहानी, शिखर महिला समूह र क्रियटिभ फोहरमैला प्रालिको सहभागिता थियो। सो अवसरमा गोकर्णेश्वर नगरपालिका–५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा–६ का अध्यक्ष नवराज लामा र काठमाडौं महानगर वडा–६  का अध्यक्ष भीम लामालगायत जनप्रतिनिधि सहभागी थिए।–रासस

प्रकाशित: Jul 15, 2023| 16:19 शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्