बुधबार, असार ३, २०८३

पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनामा क्षति

 |  शुक्रबार, असार २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २९, २०८०

म्याग्दी-  म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङस्थित ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहमा पहिरोले क्षति पुर्‍याएको छ। बिहीबार मरेनीस्थित विद्युत्गृह माथिको भिरबाट खसेको पहिरोले विद्युत्गृहमा क्षति भएको हो।

National life

विद्युत्गृहको उपकरण पहिरोले पुरिएर क्षति भएको वडाध्यक्ष अकप्रसाद विकले बताए। उनका अनुसार कतिपय उपकरण पहिराले दरमखोलाको बगरसम्म नै पुर्याएको छ। मुख्य पाइप लाइनमा समेत क्षति भएको छ।

विद्युत् आपूर्ति बन्द भएपछि सिङ्गो वडा नं २ का बासिन्दा बिजुलीबाट बञ्चित भएका छन्। घरेलु उद्योग बन्द भएका स्थानीय भक्त सिङ्किजा पुनले जानकारी दिए। परियोजनाबाट उत्पादन भएको बिजुलीबाट वडा नं २ का लुलाङ, लमसुङ र खोरियाका करिब चार सय परिवार लाभान्वित भएका थिए।

दुई वर्षअघि बाढीले परियोजनाको नहर, बाँध र विद्युत्गृह बगाएपछि गत वर्ष मात्रै मर्मत गरेर यस परियोजनाको विद्युत्गृह नै स्थानान्तरण गरेर परियोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो। लाखौँ खर्च गरेर मर्मत गरी सञ्चालनमा ल्याएको परियोजनाको विद्युत्गृह एक वर्षमै पहिरोले क्षति पुर्याएको छ।

स्थानीयवासीले परियोजनाको मर्मत सुधारसँगै केन्द्रीय विद्युतीकरणको पहुँच विस्तारमा ध्यान दिन माग गरेका छन्। परियोजना पुनःनिर्माणका लागि दुई वर्षअघि गाउँपालिकाले रु १२ लाख र स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत रु १० लाख खर्च भएको थियो। 

Shivam cement

विसं २०७६ मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रु ८५ लाख ९७ हजार, जनश्रमदान रु ३३ लाख, गाउँपालिकाको रु ५० लाख र स्थानीयवासीबाट चन्दा सङ्कलन गरी परियोजना निर्माण गरिएको थियो। यसअघि २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युत्गृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरेर पुनःनिर्माण गरिएको थियो।

प्रकाशित: Jul 14, 2023| 22:32 शुक्रबार, असार २९, २०८०
प्रतिक्रिया दिनुहोस्