बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चितवनमा एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने अनुमान

चितवनमा एक लाख ६६ हजार जनसंख्या बाढीपहिरोबाट प्रभावित हुने अनुमान

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

चितवन- चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण एक लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

National life

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए। महानगरपालिकाका ३० हजार घरधुरीका एक लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ। 

यस्तै कालिका नगरपालिकाका दुई हजार ५० घरधुरीका छ हजार, रत्ननगर नगरपालिकाका पाँच हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने जनाइएको छ। खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुने छन्। 

यस्तै पहिरोका कारण एक हजार आठ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ। पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपािलका रहेको छ। इच्छाकामनाका एक हजार दुई सय ५६ घरका छ हजार दुई सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ। 

भरतपुरका तीत सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ। जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतङ्क आदि प्रकोप समस्याका रुपमा रहेका छन्। 

Shivam cement

सूचना अधिकारी न्यौपानेले भने, ‘विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ।’ अन्य सामाजिक सङ्घ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उनले जानकारी दिए। 

बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ। यस्तै अन्य पालिकामा नदी तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई समेत सुरक्षित क्षेत्रको पहिचान गरी विपद्बाट बच्न सजग रहन आह्वान गरिएको उनले बताए। विपद्बाट बच्न पूर्व तयारीका लागि सातै पालिकामा सूचना गरिएको कार्यालयले जनाएको छ। 

प्रकाशित: Jul 13, 2023| 20:31 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्