बुधबार, साउन २०, २०८३

विस्थापित हुँदै परम्परागत घर

 |  बिहीबार, असार २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार २८, २०८०

बेदकोट- थारु समुदायको परम्परागत पहिचान बोकेका घरहरु लोप हुन थालेका छन्। थारुबस्तीमा काठले बनाएका परम्परागत घरहरु अचेल बन्न छाडिसकेका छन्। “आजकल इँटा, ढुङ्गाका घर बन्न थालेका छन्”, बेदकोट नगरपालिका–५ का स्थानीय राजेश रानाले भने, “काठबाट बन्ने घर बन्न छाडिसकेका छन्।”

काठले निर्माण गरिएका थारु बस्तीका अधिकाशं घर माटोले लिपपोत गरिएका हुन्छन्। घर छेउमै गाईभैंसीको गोठ, परालको कुन्यु पनि बनाइएका हुन्छन्। तर अहिले भने डगौरा, चौधरी थारू र रानाथारू समुदायको बस्ती यस्ता घर देखिन छाडेका छन्।

धमाधम पक्की घर निर्माण हुँदै गएपछि परम्परागत काठले निर्माण गरिएका घर लोप हुँदै गएको लालझाडी गाउँपालिका–३ का मदन रानाको भनाइ छ। “घरसँगै गाई भैँसीको गोठ हुन्थ्यो, तर अहिले गाई भैँसीपालन नै हराउन थालेको छ”, उनले भने, “सहजै काठ पाइदैन, धेरै जसो पक्की घर बनाउने हुनाले परम्परागत घर हराउँदै गएका छन्।”

उनका अनुसार विगतमा एउटै परिवारमा सय/डेढ सय जनासम्म बसोबास गर्थे। तर अहिले १०/१५जनाको परिवार पनि भेटिँदैन। “विगतको जस्तो संयुक्त परिवार पनि हुँदैन, बिहे गरेपछि छुट्टिएर बसिहाल्छन्,” उनले भने।

रोजगारीका लागि तेस्रो मुलुक जाने क्रम बढेसँगै थारु बस्तीमा पक्की घर बनाउने क्रम बढेको भीमदत्त नगरपालिकाकी लक्ष्मी डगौराको भनाइ छ। “अहिले नयाँ कच्ची घर कोही बनाउँदैनन्, त्यतिमात्रै होइन कच्ची घर बनाउने मान्छे पनि गाउँ भेट्न मुश्किल पर्छ,” उनले भने, “सहजै काठ, टायल पनि पाइदैन, विगतभन्दा अचेल आर्थिक अवस्था पनि मजबुत भएकाले पक्की घर नै सबैको रोजाईँमा छ।”

कच्ची घर वर्षेनी लिपपोत गर्नुपर्ने, छानो फेर्नुपर्ने लगायत झन्झटले पराम्परागत घर विस्थापित हुँदै गएको स्थानीयको भनाइ छ। अधिकांश चैत वैशाखमा थारू समुदायमा माटोको घर मर्मत तथा पुनर्निर्माणको काम हुने गरेको छ।

“अग्लो भेगमा लहरै घर र होचो भेगमा खेतीपाती गरिन्थ्यो,” बेलौरी नगरपालिका अभिषेक रानाले भने, “जनसंख्या वृद्धि र जमिन खण्डीकरणले अहिले होचो खेतीपाती हुने जमिनमा पनि घर निर्माण भइरहेका छन्।” रासस

प्रकाशित: Jul 13, 2023| 21:41 बिहीबार, असार २८, २०८०
प्रतिक्रिया दिनुहोस्