

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय परिसरमा रहेको खाली जमिनको माटो खनेर बिक्री गर्दा भ्रष्टाचार भएको दाबीसहित प्राध्यापकसहित चार जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर बोहरा र व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण रानालगायतमाथि माटो बेचेर भ्रष्टाचार गरेको आरोपसहित मुद्दा दायर गरेको हो।
माटो किन्ने भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट र सिद्ध बैजनाथ इँटा उद्योग सञ्चालक धनबहादुर विष्टलाई पनि अख्तियारले डामेको छ।
उनीहरुले बहुभाषिक आधारभूत विद्यालय डाङाजाईको हाताभित्र आव २०७६/७७ र २०७७/७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोकेबमोजिम करबापतको ७ लाख २९ हजार ५१४ रुपैयाँ ५० पैसा सरकारी रकम हिनामिना र हानिनोक्सानी गरेको अख्तियारको दाबी छ।