

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन छिट्टै ल्याइने बताएका छन्।
आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मोदीले यस्तो बताएका हुन्।
उनले भने, ‘संघीय निजामती सेवा ऐन चाँडै आउँछ। कुनै किसिमको चिन्ता लिनुपर्दैन। जसरी पनि ल्याउनेछौँ। ऐनमाथि धेरै पटक छलफल भएकाले अब अन्तिम चरणमा छ।’ मन्त्री मोदीले आगामी साउनदेखि कर्मचारी समायोजनलाई कडाइका साथ लागू गरिने प्रतिबद्धता व्यक्त गरे।
‘विकट र अति दुर्गम ठाउँमा कर्मचारी अभाव छ। तर सुगममा राज्यले तलब खुवाउन नसक्ने गरी करार र समायोजन भए पनि जाने कर्मचारी अत्यधिक छन्। १ साउनदेखि समायोजनमा अझ कडाइ गरिनेछ,’ उनले भने। उनले १ लाख ३७ हजार कर्मचारीमध्ये संघअन्तर्गत ५३ हजार कर्मचारी समायोजन गरेको बताए।