बिहीबार, असार ४, २०८३

म्याग्दीमा १५ साना सिंचाइ योजना निर्माण

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

म्याग्दी- कृषि ज्ञान केन्द्रमार्फत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा १५ साना सिँचाइ आयोजना निर्माण भएका छन्। केन्द्रको अनुदान सहयोगमा कृषक, समूह र सहकारीले पोखरी, पाइपलाइन, नहर निर्माण तथा मुहान संरक्षण गरेका हुन्।

National life

एक पोखरी, दुई ठाउँमा नहर निर्माण र ११ ठाउँमा पाइपलाइन जडान गरेर करिब दुई हजार रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको केन्द्रका बाली संरक्षण अधिकृत सञ्जीव बाँस्तोलाले जानकारी दिए। सो आयोजनाबाट तीन सय घरधुरी कृषक लाभान्वित भएका छन्।

‘साना सिँचाइ कार्यक्रममार्फत १५ समूहलाई २७ लाख नौ हजार अनुदान उपलब्ध गराइएको छ’, बाँस्तोलाले भने, ‘केन्द्रको ९० प्रतिशत अनुदान र कृषक तथा समूहको १० प्रतिशत श्रमदानमा सिँचाइ योजना निर्माण भएका हुन्।’

साना सिँचाइ योजना निर्माणका लागि केन्द्रले एउटा समूहलाई एक लाख ९९ हजार आठ सयका दरले अनुदान उपलब्ध गराएको छ। मुहानको संरक्षण, इन्टेक, ट्याकी, पोखरी निर्माण र पाइप जडान गरेर नियमित सिँचाइको व्यवस्था मिलाइएको छ।

गाउँपालिका र सिँचाइ डिभिजन कार्यालयले सम्बोधन गर्न नसकेका कृषकको समस्या साना सिँचाइ कार्यक्रममार्फत समेटिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले बताए। सिँचाइ पोखरी निर्माण भएपछि धानको ब्याड राख्न र रोपाइँ गर्न सहज भएको बेनपा-९ तोरीपानीका तुलसीराज गिरीको भनाइ छ।

Shivam cement

मुहानको थोरै स्रोतको पानी पोखरीमा संकलन गरेर तरकारी र सुन्तला खेतीमा पनि सिँचाइ गर्न सहयोग मिलेको छ। कार्यक्रममार्फत धेरै जसो कृषकले पाइप खरिद गरेका छन। दुई लाख २९ हजार सात सय छ हेक्टर क्षेत्रफलमा फैलिएको गण्डकी प्रदेशअन्तर्गत छ स्थानीय तह भएको म्याग्दीमा ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन छ।

खेतीका लागि प्रयोग भएको १९ हजार चार सय ९८ हेक्टर क्षेत्रफल जमिनमध्ये २७.९४ प्रतिशतमा नियमित सिँचाइ सुविधा छ। झन्डै ७२.६ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती लगाउने गरिएको छ।

यसैगरी कृषि ज्ञान केन्द्रले चालु आव २०७९/८० मा विनियोजन भएकोमध्ये ६४.३ प्रतिशत बजेट खर्च गरेको छ। पाँच करोड ४६ लाख ७६ बजेट विनियोजन भएकोमा तीन करोड ५० लाख दश हजार खर्च भएको कार्यालयले जनाएको छ। 

प्रकाशित: Jul 12, 2023| 19:11 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्