बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मेलौली बस दुर्घटना अपडेट- घाइतेमध्ये १६ जनाको उपचार हुँदै, तीनलाई भारत पठाइयो

मेलौली बस दुर्घटना अपडेट- घाइतेमध्ये १६ जनाको उपचार हुँदै, तीनलाई भारत पठाइयो

 |  बुधबार, असार २७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २७, २०८०

बैतडी- बैतडीको मेलौलीमा सोमबार भएको बस दुर्घटना परी घाइते भएका ४५ जनामध्ये १६ जना अझै उपचाररत रहेका छन्। थप उपचारका लागि तीन जनालाई भारतको बरेली पठाइएको प्रहरीले जनाएको छ।

National life

दुर्घटनामा गम्भिर घाइते भएका बस चालक पञ्चेश्वर गाउँपालिका–६ का ३५ वर्षीय देवसिंह भण्डारी, शिवनाथ गाउँपालिका–१ का ५५ वर्षीय मन्दिर सिंह साउद र शिवनाथ गाउँपालिका–५ का विनोद दमाइँलाई भारतको बरेलीमा उपचारका लागि पठाइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उनका अनुसार १० जनाको धनगढीस्थित माया मेट्रो अस्पतलमा उपचार भइरहेको छ भने तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

शिवनाथ–५ का गोरख सिंह साउद, सोही स्थानका सङ्गीता रावत, मिना चन्द, कञ्चनपुरकी दिपीका भट्ट, मेलौली–३ का बिसन भट्ट, शिवनाथ–३ का भरत सिंह साउद, पाटन–१ का चन्द्रदेव पन्त, पञ्चेश्वर–७ कि पार्वती भण्डारी र उनका छोरा कृष भण्डारी, मेलौली–४ का अमित चन्दको उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए।

त्यस्तै डडेल्धुरा अस्पतालमा पञ्चेश्वर–३ का कृष्णा शाही, सोही ठाउँका खडकबहादुर चन्द र सेतु चन्दको उपचार भइरहेको छ। दुर्घटनामा सामान्य घाइते भएकालाई घर पठाइएको प्रहरी निरीक्षक खत्रीले बताए।

Shivam cement

पञ्चेश्वरबाट महेन्द्रनगर जादैँ लु २ ख २०११ नम्बरको पवनदूत यातायातको बस सोमबार दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए। पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा सोमबार नै मृत्यु भएको थियो। 

ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको बस रुखमा अड्किएको थियो। घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jul 12, 2023| 14:04 बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्