बिहीबार, असार ४, २०८३

बाँकेमा १५ प्रतिशत धान रोपाइँ

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

खजुरा- वर्षा सुरु भएसँगै किसान खेतीपातीमा जुटेका छन्। केही दिनदेखि पर्न थालेको पानीले धानको बीउ राख्न नपाएर चिन्तित बनेका बाँकेका किसान अहिले खुसी भएका छन्।

National life

बाँकेमा ३६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। यहाँ अहिलेसम्म १५ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख शकिल अहमदले बताए। उनका अनुसार जिल्लाका केही स्थानमा बोरिङबाट सिँचाइ गरी १५ प्रतिशतसम्म किसानले रोपाइँ गरेका हुन्।
‘पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भने, ‘सिँचाइ सुविधा पुगेको ठाउँमा केही किसानले मात्रै रोपाइँ सुरु गरेका छन्।’

उनले रोपाइँका लागि अझै समय रहेको भन्दै किसानलाई नआत्तिन आग्रह गरे। साउनमा रोपाइँ गरे पनि उत्पादन हुने उनको भनाइ छ।
आकाशे पानीको भरमा रहेका यहाँका किसानले पानी परेपछि अहिले धमाधम धानको बीउ राख्न थालेका छन्। जिल्लाका अधिकांश स्थानमा सिँचाइ सुविधाको अभावमा समयमा रोपाइँ गर्न नसकिएको बाँकेको डुडुवा गाउँपालिका–२ का किसान वृजमोहन गुप्ता बताउँछन्।

समयमै पानी नपरेपछि किसानले बोरिङबाट धानको बीउ राख्ने गरेका छन्। थोरै क्षेत्रफलमा रोपाइँ गर्ने किसानले बोरिङको प्रयोगबाट नै रोपाइँ गर्छन्। ठूलो क्षेत्रफलमा रोपाइँका लागि आकाशे पानीको विकल्प छैन। सिँचाइ र मलको अभावमा यहाँका किसानले समयमा धान रोपाइँ गर्न नसकेको किसान अगुवा डुडुवाका राधेश्याम वर्माले बताए।

प्रकाशित: Jul 05, 2023| 21:42 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्