बिहीबार, असार ४, २०८३

प्लाष्टिकका भाँडाको प्रयोगले हराउँदै परम्परागत दुनाटपरी

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

लमजुङ- मौलिक रैथाने परम्परागतका दुनाटपरीको प्रयोग हुन छाडेसँगै लमजुङमा दुनाटपरी लोप हुन थालेको छ। बजारमा प्लास्टिकका थाल र पिलेटको प्रयोग बढ्न थालेकाले परम्परागतका दुनाटपरीको प्रयोग हट्दै गएको हो।

National life

प्लास्टिकबाट बनेका थालरपिलेट प्रयोग गर्न सजिलो हुने, नयाँ पुस्तामा दुनाटपरी लगाउने सिपको कमी र दुनाटपरीप्रतिको बेवास्थाका कारण यसको प्रयोग हराउँदै गएको हो। विगतमा नेपाली समाजमा पूजाआजा, विवाह, व्रतबन्ध, श्राद्धलगायत शुभकार्यमा सालको पातको दुनाटपरीको प्रयोग गर्ने प्रचलन थियो।

स्थानीय ९६ वर्षीय वृद्वा चिजकुमारी श्रेष्ठले पछिल्लो समयमा प्लास्टिकका भाँडाको प्रयोग बढेसँगै लमजुङका सहरबजारमा मात्र नभइ गाउँघरबाटै दुनाटपरी हराउँदै जाँदा चिन्ता लागेको बताइन्।

‘गाउँघरमा केही सानो पूजा हुँदासमेत सालको पात चोखो हुन्छ भन्दै दुनाटपरी बनाएर प्रयोग हुन्थ्यो। गाउँघरमा सामूहिक रुपमा दुनाटपरी सिलाउँथ्ये। अहिले प्लास्टिकको भाँडाले गाउँघर ओगट्दा परम्परागत टुनाटपरीको प्रयोग हराउदै गएको छ’, दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ७८ वर्षीय बुद्विमान श्रेष्ठले भने। युवा पुस्तामा सिपको कमीका साथै चासो नदिँदा विस्तारै दुना टपरी हराउँदै गएको उनको भनाइ थियो।

बेँसीसहर नगरपालिका वडा नं। ८ का ५३ वर्षीय दालमाया श्रेष्ठले सालको पातको दुना–टपरी शुद्धताको प्रतिक भएको बताइन्। ‘सालको पातबाट बनेका दुनाटपरी कहिले पनि जुठो हुँदैन। यसको धार्मिक महत्व पनि छ’, उनले भनिन्। पहिला आजपूजामा जताततै सालको टपरी प्रयोग गरेको देखिए पनि केही वर्षयता प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको उनको भनाइ थियो।

Shivam cement

राइनास नगरपालिका–८ स्थित हर्राबोटकी ७२ वर्षीय लालमायाँ श्रेष्ठले भनिन्, ‘पहिला–पहिला सालको पात टिपेर ल्याइ बाँसको सिन्काले दुनाटपरी गाँसिन्थ्यो। पूजाआजामा प्रसाद यसैमा राखि खाईन्थ्यो, बाँडिन्थ्यो। सहरबजारमा समेत टुनाटपरीको प्रयोग बढ्दो थियो।’ गाउँबाट टुनाटपरी बनाएर सहरका विभिन्न स्थानमा पुर्‍याउने गरिएको उनले बताइन्।

अहिले आफू नसक्ने र युवा पुस्ताको बेवास्ताका कारण पातका दुनाटपरीको सट्टा प्लास्टिकका भाँडा नै प्रयोग गर्नु परेको श्रेष्ठले गुनासो गरिन् सालको पातको दुनाटपरी बुन्न समय लाग्ने भएकाले पनि छिटो, छरितोका लागि प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको उनको भनाइ थियो।

प्लाष्टिकका भाँडाले परम्परागत दुनाटपरीलाई विस्थापित गर्न थालेपछि दुनाटपरी प्रयोग गर्ने परम्परा हराउँदै गएको दुनाटपरी व्यवसाय गर्दै आएका बेँसीसहर नगरपालिका–७ का दिलिप श्रेष्ठले बताए। उनले भने, ‘केही वर्षपहिलेसम्म पसलमा दुनाटपरी खोज्न आउने गरेकामा अहिले प्याष्टिकबाट बनेको थाल र पिलेटको माग गर्ने भएको पसलमा दुनाटपरी राख्न छाडेको छु।’

सालको पातको टपरी बनाउन समय लाग्ने र टपरी बनाउन सिप पनि आवश्यक पर्ने स्थानीय बताउँछन्। दुनाटपरी बनाउन युवा पुस्ताले बेवास्ता गरेसँगै परम्परागत दुनाटपरी लोप हुँदै गएकामा वृद्धवृद्धा चिन्तित छन्। नेपाली समाजले आधुनिकता र विदेशीको नक्कल गर्न थालेकाले परम्परागत वस्तुसँगै दुनाटपरी पनि हराउँदै गएको समाजका वृद्विजिवीको भनाइ छ।

प्रकाशित: Jul 05, 2023| 21:01 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्