काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिएका छन्। बुधबार आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन्।
उनले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। यो वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर काम गर्नुपर्छ।’ उनले सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन र व्यक्तिगत फाइदा नहेर्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन। जिम्मेवारी जे छ, त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला। व्यक्तिगत सुविधा लिने र त्यसबापत राज्यले प्राप्त गर्ने करमा सम्झौता गर्ने काम नहोस्।’
अर्थमन्त्री महतले अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने रहेकाले राज्यको सम्पूर्ण आवश्यकतालाई सम्बोधन गर्नुपर्ने अभिभारा रहेको बताए। त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको रहेको उनको भनाइ छ। ‘अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन। राजस्वको हिस्साको प्रतिशतलाई बढाउन आवश्यक छ,’ मन्त्री डा. महतले भने, ‘हाम्रो तलबभत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस्। त्यसका लागि कर्मचारीको इमानदारी अनिवार्य छ।’
राजस्वको दायरा बढाउन अर्थतन्त्रले गति लिनुपर्ने उनको धारणा छ। त्यसका लागि सरकारले बजेट प्रस्तावमार्फत पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको उनले बताए। महतले भने, ‘भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा हामीले गम्भीर ध्यान दिनुपर्छ। सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन। आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ। आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ।’
राजस्व उठतीमा आन्तरिक राजस्व विभागको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ छ। मन्त्री डा. महतले भने, ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौं। नेपालमा भ्याट लाग्न थालेपछि करको दायरा बढ्यो। पछिल्लो समय भ्याटको दायरा खुम्चाउँदै लगियो। यसले पनि समस्या ल्याउँदै गयो। कतिपय आय करको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन। राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो। करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौं।’
सेवाग्राहीले राज्यलाई तिर्ने रकम दुरुपयोग हुनु गम्भीर विषय भएको उनले औंल्याए। ‘सेवाग्राहीले राज्यलाई छुट्टयाएको रकम अरुले प्रयोग गर्ने गरी छुट दिन मिल्दैन। व्यवसायीले बिक्रीको क्रममा भ्याट उठाउँछन्, त्यो राजस्वमा बिनासर्त दाखिला गर्नुपर्छ। यसलाई आन्तरिक राजस्व विभागले गम्भीरताका साथ लिनुपर्छ। दुरुपयोग रोक्नुपर्छ, बेरुजु उठाउनुपर्छ’, मन्त्री महतले भने।