काठमाडौं– मेलम्ची खानेपानी आयोजनाले नदीको बहाव बढेसँगै काठमाडौंतिर पठाउन प्रयोग गरिने मेलम्ची खानेपानीको सुरुङ बन्द गरेको छ।आयोजनाको सुरुङभित्र धमिलो पानी पस्न थालेपछि काठमाडौंमा पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानीका प्रवक्ता राजेन्द्र पन्तले बताएका हुन्।
उनले भने, ‘धमिलो पानी पठाउँदा सुरुङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस्किएपछि बन्द गर्ने निर्णय गरेका हौं। तीन–चार दिन अघिदेखि नै काठमाडौंमा पानी ल्याउन रोकिएको छ। खोलामा धमिलो पानी बगुन्जेल काठमाडौं पानी पठाउन सकिँदैन। सोही कारण सुरुङ बन्द गरेका हौं।’
आयोजनाले गत जेठमा सुरुङभित्र ढुंगा–बालुवा छिर्न नदिन उपकरण जडान गरेको थियो। तर अहिले धमिलो पानी पस्न थालेपछि सुरुङ बन्द गर्नुपरेको प्रवक्ता पन्तले बताए। १ असार र १६–१७ साउन २०७८ मा भ्रेमथाङबाट आएको बाढीले मेलम्ची खानेपानीको मुख्य संरचना पूरै बिगारेको थियो।
हालसम्म पुरिएको बाँध क्षेत्र र संरचना निर्माण भएका छैनन्।
करिब २० करोड खर्चिएर अस्थायी रुपमा मेलम्चीको पानी काठमाडौं लगिएको आयोजनाले बताएको छ। सुरुङमार्फत मेलम्चीको पानी काठमाडौं ल्याउन हालसम्म ३१ अर्ब खर्च भएको प्रवक्ता पन्तले जानकारी दिए। सरकारले मेलम्चीसँगै यांग्र्री र लार्के खोलाको पानी काठमाडौं ल्याउने योजना अघि सारेको छ।
मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने र यसले मात्रै काठमाडौंको माग धान्न नसक्ने हुँदा यांग्र्री र लार्के खोलाबाट पनि दैनिक १७ करोड लिटर पानी थप्ने योजना थियो।