काठमाडौं– चालू आर्थिक वर्षको साउनदेखि १६ असारसम्म वैदेशिक रोजगारीका लागि ७ लाख ४० हजार ८३९ जना श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले विवरण सार्वजनिक गरेको छ।
चालू आवमा वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या आठ लाख पुग्ने अनुमान विभागको छ। चालू आव सकिन अब केही दिन मात्रै बाँकी छ। विभागका अनुसार प्रत्येक महिना ६० हजार संख्याका युवा रोजगारका लागि विदेश पस्छन्। चालू आवको १ साउनदेखि १६ असारसम्म ७ लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन्, जुन हालसम्मकै उच्च रहेको विभागले बताएको छ।
आर्थिक वर्ष २०५०/५१ देखि वैदेशिक रोजगारमा जानेहरुको संख्या बटुलेर तथ्यांक अद्यावधिक गर्दै आएको विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए। कथित माओवादी जनयुद्धको लपेटाले मुलुकमा सञ्चालित उद्योगधन्धा बन्द हुन थालेपछि २०५२ यता सरदर प्रत्येक वर्ष चार लाख हाराहारी युवा वैदेशिक रोजगारीमा गएको तथ्यांक विभागसँग छ।
भारतको नाकाबन्दी र ७२ भूकम्पले मुलुकको अर्थतन्त्र गिजोलिएपछि वैदेशिक रोजगारीमा जानेको संख्या झनै बढेको हो। विभागका अनुसार आव २०७२/७३ मा ६ लाख ४० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएर विदेश रोजगारीमा गएका थिए।
यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ६ लाख ४२ हजारले अन्तिम श्रम स्वीकृति लिएका थिए भने आव २०७३÷७४ मा ६ लाख ४२ हजार ८५९ जनाले स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ। २०७४/७५ मा ६ लाख १२ हजार ६८५ र २०७५÷७६ मा ५ लाख ८ हजार ८२८ जनाले श्रम रोजगारीका लागि स्वीकृति लिएका थिए।
विश्वव्यापी महाव्याधी कोरोनाका कारण विदेश रोजगारमा जानेको संख्या संख्या घटेको थियो। सोही कारण आव २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जानेको संख्या घटेको थियो। उक्त वर्ष १ लाख ६६ हजार ६९८ जनाले मात्रै अन्तिम श्रम स्वीकृति लिएका थिए।
कोरोना सिद्धिन थालेसँगै आव २०७८/७९ यता वैदेशिक रोजगारीमा जानेको संख्या फेरि ह्वात्तै बढ्न थालेको छ। गत वर्ष ६ लाख ३० हजार बढीले श्रम स्वीकृति लिएको विभागले जनाएको छ। अघिल्लो वर्षको तुलनामा चालू आवको पहिलो साढे ११ महिनामा १ लाख १० हजार बढीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिइसकेका छन्।
प्रत्येक वर्ष नेपालमा करिब पाँच लाख जनशक्ति श्रम बजारमा थपिने गरेको सरकारी निकायका तथ्यांकले पुष्टि गरेका छन्। तर मुलुकमा अवसर नहुँदा शिक्षित, अशिक्षित युवाशक्ति रोजगारकै लागि बिदेसिनुपर्ने बाध्यतामा छ।
पछिल्लो समय श्रम स्वीकृति लिएर विदेश रोजगारको गन्तव्य मुलुकमा मलेसिया परेको विभागको तथ्यांकले देखाउँछ। चालू आवको ११ (साउन–असार) सम्म वैदेशिक रोजगारीका लागि ७ लाख ४० हजार ८३९ जनाले श्रम स्वीकृति लिएकामा २ लाख ५१ हजार २८५ जना मलेसियाले गएका छन्।
त्यसपछि क्रमशः कतार, युएई, साउदी, कुवेत, दक्षिण कोरिया, जापान, माल्टा, जोर्डन, साइप्रस, माल्दिभ्सलगायत ५३ देशमा नेपाली श्रमशक्ति रोजगारीका लागि गएको विभागका निर्देशक गुरुदत्त सुवेदीले जानकारी दिए।
उनले भने, ‘वैदेशिक रोजगारीका लागि सबैभन्दा धेरै नेपाली मलेसिया तथा खाडी मुलुक गइरहेका छन्। पछिल्लो वर्ष युरोपका क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता देशमा जाने नेपालीको संख्या पनि बढेको छ।’