बिहीबार, असार ४, २०८३

दुग्ध उत्पादक किसानलाई नगरपालिकाको अनुदान

 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

नवलपरासी- नवलपुरको कावासोती नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो। 

National life

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा रु २६ लाख २० हजार अनुदान प्रदान गरेको छ। किसानलाई पालिकाले प्रतिलिटर डेढ रुपैयाँका दरले अनुदान उपलब्ध गराएको कावासोती नगरपालिका पशु विकास शाखाका प्रमुख डा टेकराज पौडेलले बताए। चालु आर्थिक वर्ष २०७९÷८० मा पालिकाभित्रका चार सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो। यस वर्ष चार सहकारीमार्फत सङ्कलित १७ लाख ४७ हजार दुई सय लिटर दूधका लागि अनुदान उपलब्ध गराएको उनले बताए। नगरपालिकाले सहकारीलाई चेक हस्तान्तरण गरेको छ।

कावासोती–२ को शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी, कावासोती–८ को एकीकृत दुग्ध विकास सहकारी, कावासोती–१४ को साना किसान कृषि सहकारी र कावासोती–१७ को जनकल्याण दुग्ध विकास सहकारी मार्फत सङ्कलित दूधका लागि अनुदान प्रदान गरिएको हो। कावासोती नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। चार वर्षको अवधिमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई रु एक करोड १६ लाख अनुदान उपलब्ध गराएको छ। नगरपालिकाले पहिलो वर्ष प्रतिलिटर एक रुपैयाँ अनुदान उपलब्ध गराएको थियो।

नगरप्रमुख विष्णुप्रसाद भुसालले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताए। आगामी आव २०८०÷८१ मा दूधको अनुदान रकम  वृद्धि गरिने उनले बताए। किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ।  

“दूध प्रशोधन केन्द्र स्थापना गर्ने नगरको नीति तथा कार्यक्रममा समेत समेटेका छौँ”, नगरप्रमुख भुसालले भने। पशुपालक किसानलाई दानामा धेरै लागत पर्दै आएकामा आगामी दिनमा पशु आहारा उत्पादन गर्ने गरी साइलेज उद्योग स्थापना गर्ने योजना रहेको उनको भनाइ छ। चालु आवमा उत्पादनका आधारमा दूधमा उपलब्ध  गराएको अनुदानबाट करिब आठ सय ५० किसान लाभान्वित भएका छन्।

Shivam cement

प्रकाशित: Jul 05, 2023| 10:46 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्