काठमाडौं– पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको यथार्थपत्रलाई ’तथ्यहीन आरोपपत्र’ भएको टिप्पणी गरेका छन्।
बिहीबार प्रतिनिधिसभामा पौडेलले अर्थमन्त्री शर्माले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको यथार्थपत्र पूर्ववर्ती सरकारको आलोचनामा केन्द्रित तथा तथ्यलाई बंग्याएर आफूअनुकूल प्रयोग गरेर ल्याइएको तथ्यहीन आरोपपत्र मात्र रहेको बताएका हुन्।
’यथार्थपत्र पूर्ववर्ती सरकारको आलोचनामा केन्द्रित रहेको मैले पाएको छु। यो सरकारले सरकारी निकायको तथ्यांकलाई तोडमोड गरेर आफूअनुकूल प्रस्तुत गरेको छ। यदि ती निकायको तथ्यांकलाई खण्डन गर्ने गरी अर्को तथ्यांक अहिलेको सरकारसँग छ भने सार्वजनिक होस्, नत्र सरकारी तथ्यांक तोडमोड गरिनु हुँदैन।’
यो सरकारले पहिलेका सरकारका धेरै कामहरु तथ्यांकका हिसाबले प्रशंसा नै गरेको बताउँदै पौडेलले कोभिडको अवस्थामा पनि मूल्यवृद्धि सीमाभित्र नै रहेको, आयातमा कमी र निर्यातमा बढोत्तरी भएको, वैदेशिक मुद्रा सञ्चिति, रेमिट्यान्स, बिमाको दायरा, कृषि उर्जा र पर्यटनमा जाने कर्जाको मात्र बढेको स्वीकार गरेको प्रति खुसी लागेको बताए। उनले आफू अर्थमन्त्री हुँदा ११ सयमा झरेको नेप्से आफूले छोड्ने समयमा ३ हजारको हाराहारीमा पुगेको तथ्यांक पनि प्रस्तुत गरे।
उनले जानकारीपत्रको तथ्य र निष्कर्ष विरोधाभाष भएको भन्दै तथ्यले जे देखाउँछ, सोही कुरालाई निष्कर्ष बनाएर अगाडि बढ्न अर्थमन्त्री शर्मालाई सुझाव दिए।