आइतबार, साउन २४, २०८३

गायक/कलाकार रविन तामाङ घरमै मृत फेला

प्रहरी पुग्दा घरको गेट बाहिरबाटै बन्द थियो। बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हेर्दा खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा देखिए रविन। ढोका फोडेर भित्र पस्दा उनी मृत भेटिए।
 |  बुधबार, असार २०, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

काठमाडौं- गायक एवं कलाकार रविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानीलकण्ठस्थित घरमै उनको निधन भएको हो।

परिवारजन तथा सहकर्मी कलाकारहरुले उनको निधनको पुष्टि गरेका छन्। प्रहरी पनि तत्कालै उनको घरमा पुगेको थियो।

प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार मंगलबार साँझ ६ बजेतिर प्रहरी कन्ट्रोलमा फोन आएको थियो। परिवारका सदस्यले 'रविनले फोन नउठाएको' भनेर प्रहरीमा फोन गरेका थिए। तत्कालै प्रहरी टोली उनको घरमा पुग्यो। 

प्रहरीका अनुसार सुरूमा रविनलाई उनकी श्रीमतीले पटकपटक फोन गरेकी थिइन्। उनी बाहिर गएकी थिइन् र फर्किने बेलामा घरको गेट लगाइएको थियो। रविन दोस्रो तलामा बस्थे। श्रीमतीले बारम्बार फोन गर्दा र बोलाउँदा पनि रविनले कुनै प्रतिक्रिया दिएनन्।

त्यसपछि उनले रविनकी दिदीलाई फोन गरिन्। दिदीले पनि रविनलाई बारम्बार फोन गर्दा पनि नउठाएपछि उनैले प्रहरी कन्ट्रोलमा फोन गरेर जानकारी दिएकी थिइन्।

प्रहरी पुग्दा पनि घरको गेट बाहिरबाटै बन्द थियो। उनीहरुले बाहिरबाट भर्‍याङ लगाएर झ्यालबाट हेरे। खाटको छेउमा घोप्टो परेर सुतेको अवस्थामा देखिए रविन। ढोका फोडेर भित्र पस्दा उनी मृत भेटिए।

प्रहरीका अनुसार घटनास्थलमा शंकास्पद केही पनि छैन। खाट र कोठा सबै सफा नै थियो। मुख्य गेट, माथिको ढोका बन्द थियो। पोस्टमार्टमका लागि शव टिचिङ अस्पताल लगिएको छ। मृत्युको कारणबारे पोस्टमार्टमबाट खुल्ने प्रहरीले बताएको छ।

रविन उम्दा गायकका साथै कलाकार पनि हुन्। उनी पछिल्लो समय फिल्म 'छड्के-२' मा देखिएका थिए। छड्केबाहेक उनले मुखौटा, जय परशुराम, चिसो एस्ट्रेलगायत फिल्ममा अभिनय गरेका छन्। उनका 'चिसो चिसो हावामा', 'जति माया लाए पनि', 'भुलमा भुलियो' लगायत गीत चर्चित छन्। रविन रियालिटी शो रोडिजका जज पनि बनेका थिए।

प्रकाशित: Jul 05, 2023| 06:03 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्