काठमाडौं- जलवायु परिवर्तनले भोकमरी र पीडाको ‘साँच्चिकै डरलाग्दो’ भविष्य निम्त्याउने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार चेतावनी दिएका छन्।
भोल्कर तुर्कले जलवायु सङ्कटसँग जुझ्दा छोटो अवधिका लागि मात्र सोच्ने विश्वका नेताहरूको आलोचना गरेका छन्।
तुर्कले खाद्य अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को बहसमा भने, 'चरम मौसमी घटनाहरूले बालीनाली, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई नष्ट पारिरहेको छ। यसले गर्दा समुदायहरूको उच्थान र सहयोगका लागि काम गर्न कठिन बन्दै गएको छ।'
'सन् २०२१ मा ८२ करोड ८० लाखभन्दा बढी मानिसले खाद्यान्न असुरक्षा र अभावको सामना गरिरहेकोमा जलवायु परिवर्तनले यस शताब्दीको मध्यसम्ममा थप आठ करोड मानिस भोकमरीको जोखिममा पर्ने अनुमान गरिएको छ,' तुर्कले भने।
उनले थपे, 'मानव जीवन थप कष्टकर बन्ने वातावरणको सिर्जना भएको छ। हाम्रो वातावरण जलिरहेको छ। यो पग्लिरहेको छ। बाढी आएको छ। उत्पादनहरू घट्दै गएको छ। वातावरण सुख्खा बनिरहेको छ।'
जलवायु परिवर्तनलाई सम्बोधन गर्नु मानव अधिकारको मुद्दा भएको र जलवायु परिवर्तनबाट आउने जटिल सङ्कट टार्न अझै पनि कार्म गर्न समय छ। तर त्यो समय अहिले नै भएको र ढिलो गर्नु नहुने उनले बताए।