पोखरा- पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १ सय ४ रनको विजयी लक्ष्य दिएको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन मात्र जोड्न सक्यो । खराब सुरुवात गरेको काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३१ रनको योगदान दिए ।
ओपनर अमित श्रेष्ठले २१ रन जोडे । पवन सर्राफ १२ तथा नरेश बुढाएर ६ रनमा पेभेलियन फर्किए । वसन्त रेग्मी १९ रनमा नटआउट रहँदै टोलीलाई १ सय ३ रनको स्कोर बनाउम मद्दत गरे । उनले १२ बलमा १ चौका र २ छक्का प्रहार गरे ।
मोहम्मद नाविदले दुई विकेट हात पारे । कसिलो बलिङ गरेका मोहम्मद नाभिदले आफ्नो स्पेलको ४ ओभरमा १२ रन खर्चदै २ विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा १८ रन दिंदै ३ विकेट लिए ।
राशिद खानले २ तथा विक्रम भुषालले १ विकेट लिए । पोखराले केही बेरमा जवाफी ब्याटिङ थाल्नेछ । यो खेलमा जित हात पार्ने टोलीले शीर्ष तीनमा स्थान बनाउनेछ ।
पराजित भएपनि काठमाडौंको सम्भावना जिवितै रहनेछ । पोखराले जित हात पारेको खण्डमा विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्स प्रतियोगिताबाट बाहिरिने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४