सर्लाही, चन्द्रनगर गाउँपालिका-७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक बाटोमा लत्रिएको विजुलिको तारमा छुन गई करेन्ट लाग्दा ट्रकमा लेबर काम गर्ने रौतहट घर भएका २४ वर्षीय संजय मुखियाको आइतबार दिउँसो मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै करेन्ट लागेर घाइते भएका ट्रक चालकको नेपाल मेडिसिटी अस्पताल बारामा उपचार भइरहेको छ।
नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका १३ र १४ स्थित गोरे भन्ज्याङ भन्ने स्थानमा लत्रेको तारबाट करेन्ट लागेर सोही नगरपालिका-१४ बस्ने ७० वर्षीय मन बहादुर सोमैको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ।
धादिङ, निलकण्ठ नगरपालिका-३ सनत बजार बस्ने ४५ वर्षीय डम्बर बहादुर लामिछाने मगरको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ। सोही नगरपालिका-३ एमाले चोकस्थित मुलचोटोल सुधार समितिको सडकको बत्ति बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
अर्घाखाँची, छत्रदेव गाउँपालका-३ मथुराबेशीस्थित के.बि. बेम्बो होटलमा काम गर्ने गुल्मी मुसिकोट नगरपालिका-३ पेगा घर भएका २६ वर्षीय बिमल महतको करेन्ट लागेर आइतबार राति मृत्यु भएको छ। सोही होटल नजिक मकैबारीमा बदेललाई धपाउनको लागि करेन्ट जोडी राखेको विजुलीको नाङगो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो।
मृत फेला
धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुर्ली चोकस्थित जटही बसपार्कमा सोही उपमहानगरपालिका-२४ बसैया बस्ने ५० वर्षीय पशुपती झा आइतबार मृत अवस्थामा फेला परेका छन्।
नवलपरासी (पूर्व), वुलिङटार गाउँपालिका-६ भुमरीघाटस्थित कालिगण्डकी नदीको किनारमा पाल्पा रामपुर नगरपालिका-३ ओईरिघाट बस्ने ६६ वर्षीय जित बहादुर खत्री आइतबार मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका-१६ म्हैपी खोलाको बाटोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५१ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
सुनसरी, इटहरी उपमहानगरपालिका-५ रिलाईन्स गेट अगाडि खाली जग्गामा त्रिपालको बेरा लगाई बस्ने हाल नाम, थर वतन नखुलेका २८ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।
अटो दुर्घटनामा चालकको मृत्यु
उदयपुरगढी गाउँपालिका-७ अधेरीस्थित सडकमा नेपालटारबाट गाईघाटतर्फ जाँदै गरेको स.१ ह ३६२२ नम्बरको अटो अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका-१२ बस्ने १८ वर्षीय मोहमत रूस्तमको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य १ जनाको बिराटनगर नर्सिङ होममा उपचार भइरहेको छ।