बिहीबार, असार ४, २०८३

पोखराका मासु पसललाई व्यवस्थित गरिँदै

 |  सोमबार, असार १८, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असार १८, २०८०

पोखरा- पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न सुरु गरेको छ। महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका बोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गरेको हो।

National life

महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरेका हुन्।

पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुबध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको बताए।

उनका अनुसार महानगर क्षेत्रमा करिब छ सयको हाराहारीमा ठूला तथा साना मासु व्यवसायी छन्।

महानगरले पसलको एकरुपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ। महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्डविपरीतका फ्रेस हाउस बन्द गरिने बताए।

Shivam cement

महानगरबाट अनुमति प्राप्त गरेको पसल हो भनेर चिनाउने गरी बोर्ड प्रदान गरिएकाले मान्यता प्राप्त पसलबाट मात्र मासु खरिद गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरे।

उनले महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुबधशाला स्थापनाका लागि काम अघि बढाएको जानकारी दिए।

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताइन्। उनले मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचपत्र लिन आग्रह गरिन्।

यसैगरी महानगरले विभिन्न पाँच विधाका उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गरेको छ। गाई, भैँसी, कुखुरा, बँगुर र बाख्रा पालनमा उत्कृष्ट कृषकलाई जनही १० हजारसहित पुरस्कृत गरिएको महानगरले जनाएको छ।

उत्कृष्ट कृषक सम्मान प्राप्त गर्नेमा पोखरा १५ का भैँसीपालक कृषक दीपक तिमिल्सिना, पोखरा–२५ का गाईपालक कृषक घनश्याम तिमिल्सिना, पोखरा–१७ का कुखुरापालक कृषक चन्द्रकान्त बराल, पोखरा–२० का बाख्रापालक कृषक दुर्गाबहादुर गुरुङ र पोखरा–१९ का बङ्गुरपालक कृषक सरस्वती बस्ताकोटी छन्।

प्रकाशित: Jul 03, 2023| 09:53 सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्