काठमाडौं- नेपाल बार एसोसिएसनले अदालतभित्रै कर्मचारी कुटेको आरोपमा कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने भएको छ।
बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले हिजो एक प्रेस विज्ञप्ति जारी गरी आज देशैभरका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने जनाएको हो।
जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको थियो।
सोही विरोधमा बारले उक्त घोषणा गरेको हो। जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा पक्राउ परेका अधिवक्ता लामिछाने भने रिहा भइसकेका छन्।
यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरूप देशभरका अदालतका कर्मचारीहरूले हिजो तीन घण्टा काम नगरी विरोध जनाएका थिए।
लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो।